काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो: संस्कृति मन्त्री पाण्डे


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य भएको बताएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित दोस्रो हस्तकला प्रवर्द्धन मेलाको उद्घाटन गर्दै मन्त्री पाण्डेले हस्तकलाको महत्त्व र योगदानमाथि प्रकाश पार्दै उक्त कुरा बताएका हुन् । 

‘काठमाडौं उपत्यका हस्तकलाको साम्राज्य हो,’ मन्त्री पाण्डेले भने,‘यहाँका नागरिकले कला र संस्कृतिलाई जीवित राख्नुभएको छ। दिगो विकासका लागि हस्तकलाले अतुलनीय योगदान दिएको छ।’

हस्तकला निर्माणका लागि साधना र धैर्यता आवश्यक हुने उल्लेख गर्दै मन्त्री पाण्डेले यस कार्यका लागि मानसिक तयारी समेत जरुरी हुने बताए। ‘हस्तकला केवल शारीरिक श्रम होइन, मानसिक कलासमेत हो,’ उनले भने व्यावसायिक दृष्टिले समेत यस क्षेत्रको सम्भावना ठुलो छ।’

मन्त्री पाण्डेले काठमाडौं उपत्यकाका तीन वटा दरबारलाई पुरानै शैली र स्वरूपमा पुनः निर्माण गर्न सफल भएको जानकारी दिए। साथै, कला, सभ्यता र संस्कृति जोगाउन तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको औँल्याएका छन् ।

‘सरकारले नीति बनाएर अघि बढ्नुपर्ने बेला आएको छ,’ उनले भने, ‘सांस्कृतिक क्षेत्रलाई संस्थागत र नीतिगत रूपमा अघि बढाउन  मन्त्रालय प्रतिबद्ध छ।’ एकीकृत नीतिको आवश्यकतामाथि जोड दिँदै उनले राष्ट्रिय स्तरमै सांस्कृतिक संवाद आयोजना गर्ने तयारी गरिएको जानकारी बताए।

मन्त्री पाण्डेले यसअघि प्रधानमन्त्रीको सहभागितामा सम्पन्न भएको राष्ट्रिय पर्यटन संवादको सफलताका आधारमा अब राष्ट्रिय सांस्कृतिक संवाद गरिने उद्घोष गरेका छन् । त्यसमार्फत नेपाली कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा थप योगदान पुग्ने उनको विश्वास छ।