प्रतिनिधिसभाको बैठक आधा घण्टालाई स्थगित, गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने


काठमाडौं – विपक्षी दलहरूले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक आज आधा घण्टाका लागि स्थगित भएको छ । दलहरूले उठेर निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची तय गरेको थियो । यस्तै, प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्ने कार्यसूचीपनि आजको बैठकको थियो ।

तर, प्रतिपक्ष दलले विरोध जनाउँदा बैठकको कार्यसूची नै प्रभावित बन्न पुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमन विभागको सेटिङ्गमार्फत लाखौं रकम असुलेर भिजिट भिसामामार्फत युवालाई विदेश पठाउने गिरोहको सूचीमा गृहमन्त्री लेखकको नाम जोडिएपछि प्रतिपक्षीले संसद अवरुद्ध गरेका हुन् । प्रतिपक्षीले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने चेतावनि नै दिँदै आएका छन् ।