युके र क्रोएसिया पठाइदिन्छु भन्दै आठ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका- ७ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका-२ घर भएका ३६ वर्षीय एलिया तामाङ र काठमाडौं महानगरपालिका- १६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका- ६ घर भएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् । 

एलियाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रुपैयाँ र कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले एलियालाई काठमाडौं महानगरपालिका- १ बाट र कृष्णलाई काठमाडौं महानगरपालिका- २६ बाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको  छ ।