कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने प्रचण्ड हुन्ः प्रधानमन्त्री ओली


काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको आफ्नो लगानी छ भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हल्ला फिँजाएको आरोप लगाएका छन् ।

आइतबार बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रचण्डको हल्लाको पछि माधव नेपाल र झलनाथ खनालहरु लागेको टिप्पणी गरे ।

प्रधानमन्त्री ओली भने, ‘कम्बोडियामा मेरो ३२ अरब रुपैयाँ लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल ‘प्रचण्ड’ हो। त्यसको पछि लाग्नेहरू माधव नेपाल र झलनाथ खनालहरू हुन्। माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारी रुपमा चलाउन सकेनन्। पछिसम्म पार्टी चाहिँ कब्जामा लिएर बस्न खोजे। हामीले निकम्ब, बेठिक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ पार्टीलाई अगाडि बढाउँदा त्यस्ताहरूलाई चित्त बुझेन अनि हामी विरुद्ध षड्यन्त्रमा लागेका छन्। देशी विदेशी प्रक्रियावादीहरूले हामीलाई लडाउन खोजेका छन्, त्यसमा सजग भएर आपसी द्वन्द्व र खिचातानीका प्रवृत्तिमा हामी जान हुँदैन। यो कुरा हामीले जनतासमक्ष बुझाउनुपर्छ।’