नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा कुँवर


काठमाडाैं – नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक इञ्जिनियर दीपक कुँवर निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न १८औं वार्षिक साधारणसभा तथा निर्वाचनमार्फत कुँवरको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

निर्वाचित समितिमा प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौडेल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल, तृतीय उपाध्यक्षमा रोशन भोयद्यो, महासचिवमा तुलसीप्रसाद अधिकारी, सचिवमा वरुणकुमार आचार्य तथा कोषाध्यक्षमा निश्चलबहादुर श्रेष्ठ चयन भएका छन्। अन्य सदस्यमा डेकेन्द्रकुमार श्रेष्ठ, मनोजबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सन्दिप श्रेष्ठ, प्रसित भोयद्यो, सिद्धान्तविक्रम धमला, आभास कुँवर र अरनिको सिंह रहेका छन्।

नवनिर्वाचित अध्यक्ष कुँवरले व्यवसायको तर्फबाट मन्तव्य दिंदै जग्गा तथा आवास व्यवसाय थलिएको अवस्थामा रहेको बताउँदै यस क्षेत्रलाई चलायमान बनाउन सरकार गम्भीर हुनुपर्ने धारणा राखे। उनले खर्बौं रुपैयाँ बराबरको जग्गा रोक्का हुन पुगेकाले उद्योगधन्दा, निर्माण क्षेत्र र समग्र अर्थतन्त्रमा गम्भीर असर परेको बताए।

कुँवरले घरजग्गा व्यवसायलाई उद्योगको मान्यता दिइ समयसापेक्ष ऐन, कानुन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए। साथसाथै जग्गाको हदबन्दी खारेज गर्ने विषयलाई पनि राज्यले प्राथमिकतामा राख्नुपर्ने बताए।

साधारणसभामा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सहरी विकास नीति, २०८१ मन्त्रिपरिषद्बाट पारित भइसकेको जानकारी दिँदै सहरी विकाससम्बन्धी विधेयक मस्यौदा तयार गरी भूमि व्यवस्था मन्त्रालयमा सुझावका लागि पठाइएको जानकारी दिए।

त्यसैगरी, भूमि व्यवस्था मन्त्रालयका सहसचिव गणेशप्रसाद भट्टले जग्गा तथा आवास विकास व्यवसायलाई व्यवस्थित गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्रालगायतले भूमिसम्बन्धी अध्यादेश संसद्बाट शीघ्र पारित गराउन सरकारको ध्यानाकर्षण गराएका थिए।