काठमाडौं – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका छन् । गभर्नर पौडेलले डेपुटी गभर्नरद्धय डा. नीलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रको जिम्मेवारीमा सामान्य हेरफेर गरेका हुन् ।
गभर्नर पौडेलले दुवै डेपुटी गभर्नरहरुलाई करिब आधा–आधा विभागको जिम्मेवारी तोकिदिएका हुन् । नीलमले आफु कायम मुकायम गभर्नर हुँदा आफ्नो जिम्मेवारीमा गभर्नरको कार्यालय, आन्तरिक लेखापरीक्षण, वित्तीय जानकारी इकाइ र कानुन महाशाखा राखेर बाँकी विभागको जिम्मेवारी अर्का डेपुटी गभर्नर मिश्रको भागमा राखिदिएकी थिइन् ।
गभर्नर पौडेलले ढुङ्गानालाई बैंक तथा वित्तीय संस्था नियमन विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, लघुवित्त संस्था सुपरिवेक्षण विभाग, गैर बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग, प्रदेशस्थित कार्यालयहरु, मुद्रा व्यवस्थापन, संस्थागत योजना तथा जोखिम व्यवस्थापन, सम्पति तथा सेवा व्यवस्थापन विभाग र सुचना प्रविधि विभागको जिम्मेवारी तोकिदिएका छन् । भने मिश्रको भागमा आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, बैंकिङ विभाग, भुक्तानी प्रणाली विभाग, मानव संशाधन विभाग र वित्त व्यवस्थापन विभाग परेको छ । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पालामा पनि डेपुटी गभर्नरद्धय ढुंगाना र मिश्रको जिम्मेवारीमा हालका विभागको नै जिम्मेवारी रहेको थियो ।
प्रतिक्रिया