काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जीवन सीमित भएका जटिल बिरामीको स्याहार तथा उपचार लक्षित गरी नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति २०२५/२०३५ स्वीकृत गरेका छन्।
क्यान्सर, हृदय रोग, फोक्सो रोगी, अल्जाइमर्स, पार्किक्न्सन्स, मृगौलासम्बन्धी रोगजस्ता दीर्घकालीन जीवनलाई चुनौती दिने अवस्थामा प्रदान गरिने प्रशामक सेवाका लागि सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थालाई तयार पार्ने उद्देश्य रणनीतिले बोकेको छ ।
नेपालमा क्यान्सर रोगीहरुका लागि यस्तो सेवा भएपनि जीवन सीमित भएका अन्य बिरामी तथा परिवारका लागि स्वास्थ्य समस्या र त्यससँग जुध्न सक्ने गरी प्रशामक सेवा उपलब्ध छैन । मन्त्री पौडेलले स्वीकृत गरेको रणनीतिले स्वास्थ्य संस्थाहरुले त्यस्ता जटिल र उपचार सम्भव नदेखिएका बिरामीहरुको स्याहार, हेरचाह तथा परिवारलाई समस्यासँग जुध्न सहायता गर्ने अवस्थामा जोड दिएको छ ।
रणनीतिले यसका लागि हरेक तहका स्वास्थ्य संस्थालाई जनशत्तिः निर्माण तथा सीप अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । यसैगरी, हरेक स्वास्थ्य संस्थाबाट आवश्यक औषधी तथा स्तरीय सेवा दिने उद्देश्य पनि रणनीतिले बोकेको छ ।
रणनीति स्वीकृत भएसँगै अब धेरै नागरिकले भोग्दै आइरहेका जटिल प्रकृतिका समस्याको सामना गर्न परिवार, समाज तथा राज्यलाई प्रेरणा र सहायताका लागि सहज हुने अपेक्षा गरिएको छ । मन्त्रालयले रणनीतिलाई प्रभावकारी रुपमा अघि बढाउने प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।






About Us
प्रतिक्रिया