बैंकिङ्ग समाचार, काठमाडौं ।
आज पुस १७ गते, आइतबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेपाल टेलिकम (एनटिसी), नबिल बैंक, हिमालयन बैंक, महालक्ष्मी विकास बैंक, बुटवल पावर कम्पनी र सिद्धार्थ इन्स्योरेन्सले भोली अर्थात पुस १८ गते बुकक्लोज गर्दैछन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल टेलिकम कम्पनी लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते पन्ध्रौँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ ।
सभाले आफ्ना शेयरधनीहरुलाई प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसका साथै लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।
नबिल बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते, शुक्रबार, सिल्भर ओक ब्याङ्कवेट तथा इभेन्ट सेन्टर, गैह्रीधारा, काठमाडौँमा बिहान १० बजे ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले हाल कायम चुक्ता पूँजीको १८.५० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.५० प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
त्यस्तै, हिमालयन बैंकले पुस २८ गते, बिहीबार, साधारण सभा बोलाएको छ । बैंकको तीसौँ वार्षिक साधारण सभा होटल सोल्टी, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ भने सिभिल बैंकको अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।
सभाले हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ शेयर स्वाप रेशिया अर्थात सिभिल बैंकको १०० कित्ता बराबर हिमालयन बैंकको ८०.२८ कित्ता अनुपातमा शेयर आदानप्रदान गर्ने, प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेडको नाममा एकिकृत कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गर्नेछ ।
यसका साथै सभाले ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते, लैनचौर ब्याङ्कवेट, लैनचौर, काठमाडौँमा बिहान १० बजे सभा डाकेको छ ।
सभाले हाल कायम चुक्ता पूँजी ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा भित्र्याउने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चुक्ता तथा जारी पूँजी वृद्धि गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
त्यसैगरी, बुटवल पावर कम्पनीले पुस ३० गते, कार्की ब्याङ्कवेट, बबरमहल, काठमाडौँमा ३० औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ७.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालक सहित दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
सिद्धार्थ इन्स्योरेन्सले लाभांश तथा मर्जरको प्रस्ताव पारित गर्न पुस २९ गते, बिहान ११ बजे, नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटीमण्डप काठमाडौंमा २१ औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले प्रस्तावित लाभांश सहित सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विषेश प्रस्ताव पारित गर्नेछ । दुई कम्पनी गाभिए पश्चात बन्ने कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी बन्नेछ । यसका साथै सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।



About Us
प्रतिक्रिया