पुनर्बीमा कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

पुनर्बीमा कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?


बैकिङ्ग समाचार ।
नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको १० करोड कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम जेठ २६ गतेको निर्णय अनुसार सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

बुधबार उक्त कम्पनी र नेप्सेबीच शेयर सूचीकरण सम्झौता भएको हो । कम्पनीको प्रधान कार्यालय थापाथलीमा रहेको र आइपीओ सूचीकरण पछि दिनु पर्ने आरटीएस सम्बन्धी सेवा आरबीबी मर्चेन्ट बैकिङ्ग  लिमिटेड टेकुबाट हुनेछ ।

शेयर सूचीकरण पछि नेप्सेले पहिलो कारोबारका लागि प्रति शेयर १४१ रुपियाँ ४५ पैसादेखि ४२४ रुपियाँ ३५ पैसा ‘ओपन रेञ्ज’ निर्धारण गरेको छ ।

कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आइपीओ जारी गरेर चैत २६ गते बुधबार बाँडफाँड गरेको थियो। जसमध्ये ७३ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सर्वसाधरणलाई बिक्री गरिएको थियो ।

लकडाउन कै बिचमा बाँडफाँड गरिएको शेयर २७ हजार ७ सय ४८ जनाले १० कित्ता, १५ हजार ५ सय ९० जनाले २० कित्ता, १२ हजार ७ सय २३ जनाले ३० कित्ता र २० हजार ९ सय २९ जनाले ४० कित्ता पाएका थिए ।

५० देखि १० हजार कित्तासम्मको लागि आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ जनाले पनि ४० कित्ता शेयर पाएका थिए । सोहीमध्येबाट गोलाप्रथा मार्फत ७७ हजार २ सय ४५ जनाले थप १० कित्ता शेयर पाएका थिए । ७७ हजार २ सय ४५ जनाले अधिकतम ५० कित्ता शेयर पाएकोमा पुनर्बीमा कम्पनीको शेयर पाउने कुल शेयरधनीको संख्या ३ लाख ९० हजार ६३८ छ ।

लकडाउनका कारण अहिले शेयर बजार बन्द रहेको छ र अर्थ मन्त्रालयको निर्देशन अनुसार धितोपत्र बोर्ड बजार खुलाउने तयारीमा जुटेको छ । लकडाउन खुकुलो बनाएपछि शेयर बजार खुला गनुपर्ने सरोकारवालाहरुले बताउँदै आएका छन् ।

गत चैत ११ गतेदेखि जारी लकडाउन ३२ जेठसउम्म कायम छ । आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन केहि खुकुलो बनाउने निर्णय गर्ने भएको छ।