इन्भेष्टमेन्ट बैंकले १६ महिनापछि जित्यो २ अर्बको मुद्दा, इटालीको बैंकसँग पैसा ‘क्लेम’ गर्‍यो

इन्भेष्टमेन्ट बैंकले १६ महिनापछि जित्यो २ अर्बको मुद्दा, इटालीको बैंकसँग पैसा ‘क्लेम’ गर्‍यो


बैकिङ्ग समाचार ।
नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा दुई अर्ब १० करोड बराबरको मुद्दा जितेको छ । 

यसअघिको एकल इजलासबाट भएको फैसला उल्टाउँदै तीन जनाको संयुक्त इजलासले नेपाल इन्भेस्टमेन्ट बैङ्कको पक्षमा फैसला गरेको हो । 

तनहुँ हाइड्रोको इटालियन ठेकेदार कोअपरेटिभ मुराटोरी ई केमेन्टिस्टीले स्थानीय अदालत ‘ट्रिबुनाल डी बोलोग्ना’ मा मुद्दा दायर गरेको थियो । तनहुँ जलविद्युत आयोजनाका लागि राखिएको कार्यसम्पादन जमानत जफत भएपछि इटालियन बैङ्कले नेपाल इन्भेस्टमेन्ट बैङ्कलाई काउन्टर ग्यारेन्टीबापतको भुक्तानी गर्नुपर्ने फैसला अदालतले सुनाएको छ ।

तनहुँ जलविद्युत परियोजनामा ठेकेदार कम्पनी मुराटोरी इ केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो। तर कम्पनीले भने अनुसार काम गरिरहेको थिएन।

कम्पनीले काम नगरेपछि तनहुँ हाइड्रोले ग्यारेन्टीवापतको रकम बैंकसँग दाबी (क्लेम) गरेको थियो। उत्तिनै बेला इन्भेष्टमेन्ट बैंकले दाबी भुक्तानी गरिदिएको थियो।

सीएमसीले आफ्नो जमानत जफत भएको भन्दै इटालीको स्थानीय अदालतमा मुद्दा हालेको थियो। अदालतको एकल इजलासले सुरुमा इन्भेष्टमेन्ट बैंकलाई हराइदिएको थियो। बैंकको तर्क नसुनी एकपक्षीय निर्णय भएको भन्दै इन्भेष्टमेन्ट बैंकले पुनरावेदन गरेको थियो।

कोभिड-१९ का कारण मुद्दाको फैसला ढिलाइ भइरहेको थियो। अन्ततः तीन न्यायाधीशको संयुक्त इजलासले बैंकको पक्षमा फैसला गरिदिएको हो। 

सीएमसीले नेपाल इन्भेष्टमेन्ट बैंक, तनहुँ हाइड्रोका साथै इटालीस्थित इन्टेसा सानपाउलो बैंकलाई मुद्दा हालेको थियो। मुद्दा परेपछि इटलीको बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकले तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरेको रकम फिर्ता गरेको थिएन।

बैंकले नेपाली र युरोमा कार्य सम्पादन ग्यारेन्टी दिएको थियो। बैंकले ८५ करोड १४ लाख १६ हजार रुपैयाँ र ८७ लाख ४९ हजार युरो (एक अर्ब १९ करोड रुपैयाँ हाराहारी) ग्यारेन्टी दिएको थियो।