एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने

एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्ने


 बैकिङ्ग समाचार ।
एनएमबि बैंकले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने अन्तिम सम्झौता पत्रमा यहि जेठ २५ गते आइतबार हस्ताक्षर गरेको छ।

गत माघ २६ गते एनएमबि बैंकले कञ्चन डेभपमेन्ट बैंकलाई खरिद गर्ने प्रारम्भिक सम्झौता गरेको थियो ।

एनएमबिले कञ्चनको १०० कित्ता शेयर बराबर आफ्नो ८५ कित्ता शेयर आदानप्रदान गर्ने गरि प्राप्ति गर्ने सम्झौता गरेको कञ्चन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विरुराम जैसीले जानकारी दिए ।

यस अघि ओम डेभलपमेण्ट बैैंकको १०० कित्ता शेयर बराबर एनएमबि बैंकको ७६ कित्ता शेयर आदानप्रदान गरि एनएमबि बैंक र ओम डेभलपमेण्ट बैंक मर्जरमा गएका थिए ।

पोखराको ओम डेभलपमेन्ट बैंकलाई आफुमा गाभेको एनएमबि बैंकको १३ अर्ब ९५ करोड ९ लाख ८७ हजार रुपैयाँ चुक्ता पूँजी छ ।कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरे पश्चात एनएमबि बैंकको सुदूरपश्चिम बलियो उपस्थिति रहनेछ ।उक्त प्रदेशमा बैंकका शाखा संख्या २४ पुग्नेछ ।

कञ्चन डेभलपमेन्ट बैंकको चुक्तापूँजी ५८ करोड ४४ लाख रुपैयाँ छ । ५ जिल्ला कार्यक्षेत्र रहेको बैंकको १७ वटा शाखा कार्यालयहरु तथा ३ वटा एक्सटेन्सन काउन्टरहरु संचालनमा छन् ।

कन्चन डेभलपमेन्ट बैंकलाई खरिद गर्न एनआईसी एशिया, माछापुच्छ्रे र सिद्धार्थ बैंकले पनि प्रयास गरेका थिए । यी बैंकहरुले कञ्चन डेभलपमेन्ट बैंकसँग चरणवद्ध छलफल गरेपनि अन्तत एनएमबि बैंकले खरिद गर्ने पक्का भएको हो।