पूर्ण अनलाइन शेयर कारोबार सरकारको नीति, प्रविधि मार्फत नियमन: अर्थमन्त्री

पूर्ण अनलाइन शेयर कारोबार सरकारको नीति, प्रविधि मार्फत नियमन: अर्थमन्त्री


बैकिङ्ग समाचार ।  
अर्थमन्त्री डा. युवराज खतिवडाले सुचना प्रविधिको उच्च प्रयोग मार्फत पुँजी बजार नियमन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्  । नेपाल धितोपत्र बोर्डको २८ औ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्री खतिवडाले सुचना प्रविधिको उच्च प्रयोग मार्फत पुँजीबजार नियमन गर्नुपर्ने आवश्यकता आफुले देखेको बताएका हुन्।

शुभकामना दिदै उनले भने 'धितोपत्र  बजारलाई  गतिशील  एवं  विश्वसनीय  बनाउन  बजार  नियमन  तथा  पूर्वाधार सम्बन्धी अन्तर्राष्ट्रिय सिद्धान्त  तथा  अभ्यास  अवलम्बन गर्दै सूचना प्रविधिको उच्च प्रयोग मार्फत बजार नियमन गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।'

उनले  धितोपत्र बजार उपकरणमा विविधीकरण, संस्थागत लगानीकर्ताहरूको संलग्नता वृद्धि, धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनीहरूको प्रवेश, लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरी देशभर बजारविस्तार गरी लगानीकर्ताको हकहितको रक्षा गर्दै बजारलाई स्थिरता दिनुपर्ने आवश्यकता रहेको बताए ।

मन्त्री सरकारले पुँजी बजारको दायरा विस्तार गरी ऋणपत्रको दोस्रो बजार कारोबार सुरु गर्ने, दोस्रो बजार कारोबारलाई पूर्ण रूपमा विद्युतीय प्रविधिमा आधारित बनाउने, पुँजी बजारमा संस्थागत  लगानी अभिवृद्धि गर्न ‚टक डिलर सञ्चालनमा ल्याउने, वस्तु विनिमय बजार सञ्चालनमा ल्याउन आवश्यक ब्यबस्था मिलाउने, धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडको संरचनात्मक सुधार गर्ने लगायतका नीति लिएको बताए ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारको सुदृढ एवं विश्वसनीय ब्यबस्था गरी देशभर छरिएर रहेको बचत तथा वैदेशिक पुँजीको समेत उत्पादनशील क्षेत्रमा परिचालन गर्नका लागि अनुकूल वातावरण तयारी गर्न बोर्डको भूमिका सशक्त एवं प्रभावकारी हुने विश्वास मन्त्री खतिवडाले व्यक्त गरेका छन्। 

उनले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ रोगका कारण सिर्जित विषम परिस्थितीबाट आर्थिक गतिविधिहरू शिथिल हुँदै गएको अवस्थामा दीर्घकालीन पुँजी परिचालनको गतिशील माध्यमका रूपमा धितोपत्र बजारलाई आफुले लिएको बताएका छन् ।