विनोद चौधरीले ३ अर्ब २० करोडमा किने साउदी राजकुमारको होटेल

विनोद चौधरीले ३ अर्ब २० करोडमा किने साउदी राजकुमारको होटेल


बैकिङ्ग समाचार । 
अर्बपति तथा व्यवसायी विनोद चौधरीले साउदी अरबका राजकुमारको लगानी रहेको केन्याको नैरोबीमा रहेको लक्जरी होटेल खरिद गरेका छन्।

साउदी अरेबियाका राजकुमार अल वालिड विन तलालले करिब ३ अर्ब २० करोड रुपैयाँ (२.८ अर्ब केन्नियन सिलिङ) मा होटेलको स्वामित्व बिक्री गरेका हुन्। सम्झौतामा होटलसँगै चौधरीले १७० गेष्ट रुम, ५१ ओटा लक्जरी टेन्ट र १० ओटा फुड तथा वेभरेजको आउटलेट पनि पाउने उल्लेख छ ।

चौधरी ग्रुपले नैरोबीमा रहेको ‘फेयरमण्ट द नरफल्क’ र फेयरमण्ट द मारा सफारी क्लबको स्वामित्व खरिद गरेको हो।चौधरी ग्रुपले एसिया र मध्यपूर्वी देशहरूमा लगानी विस्तार गरिरहेको छ।

होटलका सबै कर्मचारीहरूलाई कोभिड १९ ले पारेको असरलाई कारण देखाएर हटाइएको छ भने स्वामित्व खरिदपछि चौधरी ग्रुपले एक वर्षमा सकाउने उदेश्यका साथ होटेल रिनोभेटको काम शुरू गरेको छ।

केन्यास्थित अटर्नी जनरलको कार्यालयले कर्मचारी हटाउनुको वैधतामाथि प्रश्न उठाएपछि होटलले बिहीबार एक सूचना जारी गर्दै कर्मचारी निकाल्ने सूचना फिर्ता लिने निर्णय गरेको थियो।

भ्रष्टाचार अभियोगमा केही महीनाअघि पक्राउ परेको राजकुमार आर्थिक समस्यामा परेपछि कोरोना महामारी शुरु हुनुभन्दा अगाडि नै उक्त होटेल खरिद बिक्रीको डिल गरेका थिए।

साउदी अरबका मिडियाहरूले राजकुमार तलालले केन्यामा रहेका सबै होटेल व्यवसाय बिक्री गरिसकेको उल्लखे गर्दै अन्य ठाउँमा व्यवसायमा लगानीको योजना बनाइरहेको उल्लेख गरेका छन्।