विश्व बैंकद्वारा नेपाललाई १२ अर्ब ऋण सहयोग 

विश्व बैंकद्वारा नेपाललाई १२ अर्ब ऋण सहयोग 


बैकिङ्ग समाचार । 

विश्व बैंकले नेपालका लागि १० करोड अमेरिकी डलर -करीव १२ अर्ब रुपैयाँ) ऋण सहायता स्वीकृत गरेको छ । कोभिड १९ को प्रभाव न्यूनिकरण तथा विद्यूत क्षेत्रको सुधारमा लागि यो रकम खर्च गरिने भएको छ ।

विश्व बैंकले बुधबार दिएको जानकारीअनुसार बुधबार नेपालले पाउने ऋण सहायता स्वीकृत भएको हो । बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकबाट ऋण सहायता स्वीकृत भएको विश्व बैंकले उल्लेख गरेको छ । यो रकम डेभलपमेन्ट पोलिसी क्रेडिट (डीपीसी) अन्तर्गत प्राप्त भएको हो ।

खासगरी नेपाल विद्युत प्राधिकरणको वित्तीय क्षमता अभिवृद्धिमा विश्व बैंकले लगानी गर्ने भएको छ । विद्युत् क्षेत्रमा थप आर्थिक सम्भाब्यताको खोजी गर्न गर्नुपर्ने नीतिगत, नियमन र संस्थागत सुधारमा विश्व बैंकको सहायता उपयोग हुने बैंकले जनाएको छ ।

प्राधिकरणको पुर्नसंरचना गरी संघीयता अनुसार बलियो संस्थामा रुपान्तरण गर्न र त्यहाँबाट विद्यूत क्षेत्रको अधिकतम सम्भावनाको खोजी गर्ने समेत बैंकले उल्लेख गरेको छ ।

विश्व बैंकका कन्ट्रीम्यानेजर फरिस हदद जर्भोसले संकट अगाडी र पछाडिसमेत निरन्तर लाभ प्राप्त गर्न विद्यूत क्षेत्रमा सुधारको आवश्यकता रहेको भन्दै यसले लगानीका प्राथमिकता निश्चित गर्न समेत सहयोग पुग्ने बताए ।

भरपर्दो, किफायती र दीगोले विद्युतीकरणसम्बन्धी नेपाल सरकारको प्रतिवद्धतालाई विश्व बैंकले सहयोग गरेको उनले बताए । यो नेपालको गरिबी निवारण र समृद्धितर्फको यात्रामा समेत सहयोगी हुने उनको विश्वास छ ।

पछिल्ला दिनमा नेपालले विद्यूत उत्पादन र गुणस्तर सुधारमा ठूलो फड्को मारेको छ । नेपालको ८८ प्रतिशत जनसंख्याको पहुँचमा विद्युत सेवा पुगिसकेको छ । प्राधिकरणको प्रभावकारी व्यवस्थापन र सरकारको साथले पछिल्लो समय प्राधिकरणको घाटासमेत परिपूर्ति हुने नेपालको विद्यूत क्षेत्रको ठूलो फड्को भएको विश्व बैंकले उल्लेख गरेको छ ।