व्यावसाय संचालन गर्दै दरबारमार्ग क्षेत्रका व्यवसायी

व्यावसाय संचालन गर्दै दरबारमार्ग क्षेत्रका व्यवसायी


बैकिङ्ग समाचार । 

सरकारले लकडाउनको मोडालिटी तय नगरेको भन्दै आक्रोशित व्यावसायीहरुले राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसाय आजबाट सुरु गर्ने भएका छन् ।

दरबारमार्ग डेभलपमेन्ट बोर्डको मंगलबार भएको अनौपचारिक छलफलले बुधबारदेखि दरबारमार्ग क्षेत्रको व्यावसाय संचालन गर्ने निर्णय गरेको हो ।

छलफलमा सहभागी एक व्यवसायीका अनुसार बुधबार सबै पसल र व्यवसाय खोलेर सरसफाई गर्ने निर्णय भएको छ । बुधबार थप व्यवसायी र कर्मचारीसँग छलफल गरेर आधिकारिक धारणा बनाउने निर्णय समेत भएको जनाइएकाे छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन ७० दिन पुगेपछि धेरै क्षेत्रमा पसल खोल्न दबाब सुरु भएको छ । सरकारले व्यवसायीलाइ कर तिर्न ताेकता गरेकाे तर कुनै हितका प्याकेज नल्याएकाे र व्यापार व्यवसाय गर्न नदिएकाे भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

\"\"

जोरपाटी क्षेत्रमा धमाधम पसल खुल्दै

बन्दाबन्दीका कारण व्यापार, व्यवसाय गर्न नपाउँदा भोकै बस्नुपर्ने र सटर भाडा तिर्न नसकिने भएको भन्दै जोरपाटी चोकका व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । गोकर्णेश्वर नगरपालिका–५ र ६ क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीले मङ्गलबार विरोधस्वरुप बजार खोलेका हुन् । पसल खोल्न नदिए सटर भाडा सरकारले तिरिदिनुपर्ने जोरपाटी व्यापार सङ्घको माग छ ।

अरु धेरै व्यवसाय खुला हुँदा पनि कपडा, जुत्ता, मोबाइललगायत केही मात्र बन्द रहेकाले खोल्न बाध्य हुनुपरेको व्यवसायी आत्माराम चौलागाईंले बताए । कम मानिस आउने र सामाजिक दूरी कायम गरेरै खोल्न सकिने व्यवसाय बन्द गर्नु नपर्ने माग व्यवसायीको छ ।

जोरपाटी चोक क्षेत्रका करिब ४० अत्यावश्यक सेवाबाहेकका पसल खुलेपछि महानगरीय प्रहरी वृत्त बौद्धले बन्द गर्न अनुरोध गरेको थियो ।