३ लघुवित्तको ५ लाख ४८ हजार कित्ता आईपीओ आउँदै

३ लघुवित्तको ५ लाख ४८ हजार कित्ता आईपीओ आउँदै


बैकिङ्ग समाचार ।  
३ वटा लघुवित्त कम्पनीको ५५ लाख ४८ हजार ८०० कित्ता साधारण शेयर (आईपीओ) निष्काशन हुने भएको छ ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाले सो परिमाणको शेयर विक्रीमा ल्याउने भएका हुन् । 

एनआईसी एशिया लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न स्वीकृति पाएको छ भने बाँकी दुई ओटा कम्पनीले निवेदन दिएका छन् ।

एनआईसी एशिया लघुवित्तले आईपीओ निष्कासनको लागि चैत ४ गते स्वीकृती पाएको थियो । तर, चैत ११ गतेदेखि लकडाउन भएकाले आईपीओ निष्कासनमा ढिलाई भएको हो । कम्पनीले ४७ लाख ५५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । 
कम्पनीले निष्कासन गर्न लागेको आईपीओ लघुवित्त क्षेत्रकै सबैभन्दा धेरै कित्ता आईपीओ हो ।

कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रू. १२ करोड २७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको यसै अवधिको तुलनामा ५६ प्रतिशतले वृद्धि भएको हो । 

गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू। ७ करोड ८४ लाख नाफा कमाएको थियो । 

चुक्ता पूँजी रू. १ अर्ब भन्दा बढी रहेको छ । हाल सम्ममा कम्पनीले १०५ ओटा शाखा कार्यालयहरूबाट लघुवित्त सेवा दिँदै आएको छ ।

त्यसैगरी साधना लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नको लागि २०७६ फागुन २७ गते निवेदन दिएको थियो । कम्पनीले ७ लाख ७ हजार ८०० कित्ता आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको हो । कम्पनीले तेस्रो त्रैमासमा रू। १ करोड ९० लाख नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६७ प्रतिशतले वृद्धि भएको हो ।

सो अवधिमा कम्पनीले रू। १ करोड १४ लाख नाफा कमाएको थियो । कम्पनीको चुक्ता पूँजी रू। १४ करोड ७० लाख छ । हाल सम्ममा कम्पनीले ६० ओटा शाखा कार्यालयहरूबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाले ८६ हजार कित्ता आईपीओ निष्कासन गर्नको लागि २०७६ फागुन १६ गते सेबोनमा निवेदन दिएको थियो । हालसम्ममा यस कम्पनीले भने वित्तीय विवरण प्रकाशित गरेको छैन । ५ ओटा शाखा कार्यालयहरूबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

एनआइसी एशिया लघुवित्त र साधना लघुवित्तले निष्कासन गर्ने आईपीओले ग्रेड ४ रेटिङ पाएका छन् । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको देखाउँछ ।