बैंकिङ्ग समाचार, काठमाडौं ।
पूँजीबजार सुधारका लागि १९ बुँदे माग सहित शेयर लगानीकर्ताहरुले आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेका छन् ।
शेयर लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र विकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गर्दै जेठ २३ गतेदेखि दबाब मूलक आन्दोलनका बिभिन्न कार्यक्रमहरु गर्ने घोषणा गरेको हो ।
सरकारले साढे तीन वर्ष अघि नै गरिसक्छु भनेका कामहरु अझैसम्म पूरा नहुँदा पूँजी बजारमा गंभीर संकट आएको भन्दै लगानीकर्ताहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
संघर्ष समितिका संयोजनक तिलक कोइरालाले असार १ गतेदेखि आमरण अनशनमा बस्ने घोषणा गरिसकेका छन् । सो अनशन कार्यक्रम अघि लगानीकर्ताहरूले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी कोइरालाले दिएका छन् ।
पूँजीबजार सुधारका लागि सरकारले नै तय गरेका आवश्यक कामहरु कार्यान्वयनका लागि नियामक निकायहरुले उदासिनता देखाएकाले दबाक स्वरुप आन्दोलनमा जान परेको भनाइ कोइरालाको छ ।
शान्तिपूर्ण आन्दोलनका कार्यक्रम अन्तर्गत लगानीकर्ताहरुले जेठ २३ गते धितोपत्र बोर्डमा कालोपट्टीसहित प्रदर्शन गर्ने, २४ गते अर्थ मन्त्रालय जाने, २५ गते प्रधानमन्त्रीलाई भेट्ने, २६ गते राजनीतिक पार्टीहरुसँग छलफल गर्ने, २७ गते माईतीघर मण्डलादेखि बानेश्वरसम्म कालो व्यानरसहित जुलुस गर्ने र २९ गते पूँजी बजारका विज्ञहरुसहित बृहत छलफल कार्यक्रम गर्ने जानकारी संघर्ष समितिका संयोजक कोइरालाले दिएका छन् ।
शनिवार काठमाडौंको भृकुटीमण्टपमा भएको लगानीकर्ताहरुको भेलाले गठन गरेको संघर्ष समितिमा कोइराला सहित पवित्रा ज्ञवाली, रमेश ढकाल, गोपाल स्वामी, एसपी चौलागाईं, नानीबाबु खरेल, पूरुषोत्तम कडेल, एलपी साह, संजय थापा, देवबहादुर कार्की, लक्ष्मण बंजारा, सुमन भण्डारी, विनोद कार्की, पिताम्बर फूलेल, राजु ओझा, माधवप्रसाद गौतम, सुन्दर श्रेष्ठ, पुरुषोत्तम सापकोटा, गणेश उप्रेति, सुकदेव भण्डारी, कमल पन्थी, सुदर्शन पाठक, पासाङ शेर्पा, मुरारी सिटौला, विदुर थापा र प्रल्हाद वस्ति सदस्य छन् ।
साथै भेलाले पवित्रा ज्ञवालीलाई आर्थिक संंकलन संयोजकको जिम्मेवारी दिदै २७ हजार रुपैयाँ कार्यक्रमका लागि सहयोग संकलन गरेको छ ।
प्रतिक्रिया