बाईक र कारमा थप कर लगाउने तयारीमा सरकार 

बाईक र कारमा थप कर लगाउने तयारीमा सरकार 


बैकिङ्ग समाचार । 

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत पुनः करका दरमा वृद्धि गर्ने आँकलन सुरु भएको छ । सरकारले हरेक वर्ष चुरोट र मदिरापछि कर बढाउने क्षेत्रको रुपमा अटोमोवाइललाई लिने गरेको तथ्य कही कतै लुकेको छैन । यस्तोमा राजस्वका सबै मुहान बन्द रहेको समयमा पुनः सवारीसाधनमा कर बढाउने अनुमान सुरु भएको छ ।

अर्थमन्त्रीको रुपमा डा। यूवराज खतिवडाले पेश गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट सवारीसाधनको करमा व्यापक वृद्धि गरेका थिए । अर्थमन्त्रीले सहजै कर उठाउन सकिने क्षेत्रको रुपमा अटोमोवाइललाई लिएका हुन् ।

सवारीसाधनमा सरकारले भन्सार ७७ देखि ८० प्रतिशतसम्म लगाउदै आएको छ । उनले उक्त बजेटमार्फत गाडीको इन्जिन क्षमताको आधारमा अन्तःशुल्कमा व्यापक वृद्धि गरेका थिए ।

उनले एक हजार सीसीभन्दा माथिका जिप, कार भ्यानमा अन्तःशुल्क बढाएर एउटै सवारीसाधनको मूल्य ३२ लाखसम्म बढ्ने अवस्था सृजना गरेका थिए । 

नेपालमा बिक्री हुने ३ हजार सीसीभन्दा माथिका सवारीसाधनमा बढेको करले ठूला गाडीको बिक्रीमा करिब ७० प्रतिशतभन्दा बढीले गिरावट आएको थियो भने, साना गाडीको बिक्रीमा सोही वर्ष ३० प्रतिशतले गिरावट आएको थियो ।

मोटरसाइकलमा पनि सीसीको आधारमा अन्तःशुल्कको व्यवस्था गरेकाले ४०० सीसीभन्दा माथीका मोटरसाइकलको मूल्यमा ३ लाखभन्दा बढीले बढोत्तरी भयो । ४०० सीसीभन्दा माथीका मोटरसाइकलमा सरकारले सडक दस्तुर नै २ लाख रुपैयाँ लगाएको थियो ।

सरकारले पीकअपको भन्सार दरमा खासै परिमार्जन नगरेको कारण आर्थिक वर्ष २०७५/७६ मा डबल क्याब पीकअपको बिक्रीमा केही बढोत्तरी भयो । धेरै डबल क्याब पीकअपको बिक्री देखेका अर्थमन्त्रीले आर्थिक वर्ष २०७६/७७ को बजेटमा डबल क्याब पीकअपमा अन्तःशुल्क वृद्धि गरे ।