राजाको तस्विर भएको नोट नचल्ने भन्ने भ्रममा हुनुहुन्छ ? ढुक्क हुनुस् चल्छ 

राजाको तस्विर भएको नोट नचल्ने भन्ने भ्रममा हुनुहुन्छ ? ढुक्क हुनुस् चल्छ 


बैकिङ्ग समाचार । 

राष्ट्र बैंकले आइतबार सफा नोट नीति संशोधन सम्वन्धमा दिएको निर्देशनलाई लिएर थुप्रै समाचारमाध्यमहरुले अब राजाका तस्वीर अंकित नोटहरु नचल्ने समाचार उल्लेख गरे । यसले जनमानसमा एक प्रकारको भ्रम पैदा गरेको थियो । तर सोही विषयलाई लिएर राष्ट्र बैंकले सोमबार थप प्रष्ट पार्दै अर्को विज्ञप्ति जारी गरेको छ । 

कोभिड १९ का कारण नोट छपाई र ढुवानीमा हुन गएको असहजतालाई मध्यनजर गर्दै प्रयोगमा ल्याउन सकिने अवस्थाका नोटलाई पुनः बजारमा लैजाने उद्देश्यले सफा नोट व्यवस्थासम्वन्धमा बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको राष्ट्र बैंकले प्रष्ट पारेको छ।

साथै राजाका तस्वीरयुक्त नोटका सम्वन्धमा कुनै नयाँ व्यवस्था नगरिएको राष्ट्र बैंकले जनाएको छ।

राजाको तस्वीर अंकित नोटहरु नचल्ने भन्ने हल्ला गलत भएको राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्टले बताए। यद्यपी त्यस्ता नोटहरु राष्ट्र बैंकले केही वर्षदेखि नै खिच्दै आएको छ।

बैंकहरुमा संकलन भएका त्यस्ता नोटहरु राष्ट्र बैंकले खिचेपछि पुनः बजार पठाउन छोडेको १० वर्षभन्दा बढी भैसक्यो।

अहिले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशन नयाँ होइन। बैंकहरुले राजाका तस्वीर अंकित नोट सर्वसाधारणबाट लिन्छन्, तर त्यस्ता नोट सर्वसाधारणलाई दिँदैनन्। यो व्यवस्था बैंकहरुले केही वर्ष पहिलेदेखि नै गर्दै आएको प्रवक्ता भट्टले जानकारी दिए।

‘राजाको तस्वीर अंकित नोटका सम्वन्धमा गरिएको व्यवस्था नयाँ होइन, मात्र बैंकबाट रिलिज हुँदैनन्, जुन पहिलेदेखि नै हुँदै आएको हो’ भट्टले सेतोपाटीसँग भने।

यदी सर्वसाधारणसँग यस्ता नोट छन् भने बैंकहरुमार्फत पहिले पनि सटही गर्न पाउँथे, भोलि पनि पाउँछन् तर बैंकहरुबाट यस्ता नोट माग्न सक्दैनन्।

कतिपयले यस्ता नोट संग्रह गरेर राखेका हुन सक्छन्, तर बजारमा प्रचलनमा हराइसकेको छ। प्रचलनबाट राजा अंकित तस्वीरका नोटहरु हटाउँदै जाने लक्ष्य लिइएको राष्ट्र बैंकले जनाएको छ।

‘अहिलेको नयाँ व्यवस्था भनेको नोटमा तीन किसिमका स्लिप प्रयोग गरेर व्यवस्थापन गर्नु भन्ने मात्रै हो’ उनले भने। यसअघिसम्म सेतो र रातो स्लिप मात्रै प्रयोग हुँदै आएको थियो।

सफा नोटलाई सेतो र पुनः प्रयोग गर्न नमिल्ने नोटलाई बैंकहरुले रातो स्लिपले बेरेर छुट्याउने गर्दथे। अब भने हरियो स्लिपको पनि प्रयोग हुने भएको छ। नयाँ नोटका लागि हरियो स्लिपले बेरेर व्यवस्थापन गर्नुपर्नेछ।

पुनः प्रयोग गर्न मिल्ने मध्यमस्तरका नोटलाई सेतो स्लिपले बेरेर छुट्याउनुपर्नेछ। रातो स्लिपमा राजाका तस्वीर अंकित नोटहरु पनि पर्दछन्। रातो स्लिपका नोटहरु बैंक तथा वित्तीय संस्थाले नोट कोषमार्फत सटही गरेर नयाँ नोट लिन सक्छन्।

पुनः प्रचलनमा ल्याउन नमिल्नेगरी फोहोर भएको, झुत्रिएको, च्यातिएको, भिजेको र धेरै पुराना नोट बैंकहरुले राष्ट्र बैंक वा नोट कोषमा बुझाएर नयाँ नोट लिन सक्छन्।

त्यस्ता पुराना नोट र राजाका तस्वीर अंकित नोटहरु राष्ट्र बैंकले जलन गरेर नष्ट गर्दै आएको छ, तिनको साटो नयाँ नोट बजारमा जान्छन्।