विदेशमा रहेका नेपालीलाई आईपीओमा १०% आरक्षण

विदेशमा रहेका नेपालीलाई आईपीओमा १०% आरक्षण


बैंकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले विदेशमा भएका नेपालीलाई आईपीओमा १० प्रतिशत आरक्षण दिइने बताएका छन् । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । 

सरकारले बैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई आईपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गर्ने भएको छ । विदेशमा रहेका नेपाली नागरिकको लगानी धितोपत्र बजारमा भित्र्याउने उद्देश्य सहित सरकारले यो व्यवस्था लागू गरेको हो ।

पूर्ण प्रविधिमैत्री बनिसकेको नेपालको धितोपत्र बजारमा विश्वभरबाट आईपीओ खरीद गर्न सकिने व्यवस्था रहेको छ । सरकारले बजेटमा व्यवस्था गर्नु पूर्वदेखिनै विदेशमा बस्ने नेपालीहरुले आरक्षणको माग गर्दै आएका थिए । 

त्यस्तै, धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीलाई लगानीका लागि कानुनी व्यवस्था गरिने भएको छ । यता भारतमा रहेका नेपालीले नेपालको बैंकमा खाता खोलेर बैंकमार्फत पैसा पठाउन मिल्ने व्यवस्था गरिने भएको छ ।