१ खर्ब भन्दा बढी रकम विकशित मुलुकतर्फ पलायन भयोः राष्ट्र बैंक 

१ खर्ब भन्दा बढी रकम विकशित मुलुकतर्फ पलायन भयोः राष्ट्र बैंक 


बैकिङ्ग समाचार । 
राष्ट्र बैंकले पछिल्लो त्रैमासिक अवधिमा नेपालबाट एक खर्ब भन्दा बढी रकम विकशित मुलुकतर्फ पलायन भएको बताएको छ। पूँजी पलायनको क्रम निरन्तर चलिरहेको भन्दै राष्ट्र बैंकले अबको चुनौति पूँजी पलायन रोक्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक एंवम प्रवक्ता गुणाकार भट्टले सन २०२० सुरु भएयता नेपालको इमर्जिङ मार्केटबाट एक अर्ब डलर बराबर अर्थात एक खर्ब भन्दा बढी रकम बाहिरिएको बताएका छन् । पछिल्लो समयमा कोभिड १९ को प्रभावले नै पूँजी पलायनको अवस्था सृजना गरेको उनको भनाई छ ।

काठमाडौको मध्य वानेश्वर स्थित राजधानी मोडेल कलेजका एमबिएमा अध्ययनरत बिद्यार्थीहरुको सिएसआर क्लबले शनिबार आयोजना गरेको वेब सेमिनारमा बोल्दै भट्टले नेपालबाट बाहिरिएको पूँजी फर्काउने चुनौति बढेको बताए ।

क्राइसिसको समयमा विकाशिल तथा उदीयमान मुलुकबाट विकशित मु्लुकतर्फ पूँजी बर्हीगमन भएको छ । नेपालमा पनि त्यस्तो स्थिति देखिएको बताएका उनले लकडाउन पछिका दिनमा व्याजदरको स्थायित्वलाई ध्यानमा राख्नु पर्ने बताए ।

साथै उनले पछिल्लो समयमा रेमिट्यान्स घट्दो अवस्थामा रहेकाले सरकारले वैदेशिक ऋण सहयोग परिचालनमा जोड दिनुपर्ने आवश्यकतामा जोड दिए । त्यस्तै उनले कोभिडले पैदा गरेको अहसज अवस्थाबाट मुलकलाई आगाडि बढाउनेतर्फ राष्ट्र बैंकको आगामी मौद्रिक नीति केन्द्रित हुने जानकारी दिए ।

कार्यकारी निर्देशक भट्टले पूँजी पलायन हुन नदिन बैंकको निक्षेप र कर्जाको ब्याजदर सन्तुलनमा राख्नुपर्नेमा जोड दिए । निक्षेपको ब्याजदर घटाउँदा रेमिट्यान्स समेत थप घट्ने उनको भनाई छ । उनले पूँजी पलायन रोक्न र उत्पादन बढाउन अबको विकासको दिशालाई पुनर्निदेशित गर्नुपर्ने, श्रमलाइ पुर्नजाग्रित गराउने, शीप विकास गर्ने, पूँजीको आप्रवहालाई व्यवस्थाति गर्ने, इमर्जीङ मार्केटबाट पलायन भइरहेको पूँजी फर्काउने लगायतमा केन्द्रित हुनुपर्ने बताए ।

सोही कार्यक्रममा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खन्जुलेलीले अहिले बैंकहरुमा कर्जाको ब्याजदर घटाउनुपर्ने दबाब चारैतिरबाट आएको बताइन् । चौतर्फी दवाबका बेला निक्षेप र कर्जाको ब्याज सन्तुलन कायम गर्नेतर्फ बैंकहरु सजग हुनुपर्ने उनको भनाई थियो ।

निक्षेप र ब्याजमा प्रदान गरिने ब्याजदरले बैकिङ क्षेत्रमा मात्र नभई समग्र अर्थतन्त्रमा नै प्रभाव पार्ने भएकाले निक्षेपकर्तालाई रियल रिटर्न दिनुपर्ने उनको भनाई छ । बैंकका निक्षेपकर्ताले वास्तविक प्रतिफल नपाएमा पूँजी पलायनको अवस्था झनै बढेर जाने उनको भनाई छ ।

अहिले कर्जाको व्याजदर एकल विन्दुमा ल्याउन सके उद्योग क्षेत्रमा केहि सहुलियत पुग्ने भन्दै निक्षेपकर्तालाई पनि लाभ दिनुपर्ने उनले बताईन् । बैंकहरुले वैदेशकि ऋण तथा लगानी भित्रयाउनेतर्फ जोड गर्नुपर्ने उनले बताईन् । उद्योगी व्यवसायीलाई आगामी ६ महिनाको लागि आवश्यक वर्किङ क्यापिटल जुटाउने तर्फ बैंकहरु लाग्नुपर्ने उनको सुझाब छ ।

'मानव स्रोत, नलेज इनोभेशन, थर्ट र मार्केटिङले अब बजार अगाडि बढाउने निश्चित छ । इकोनोमिमा आउने यस्ता साइकलहरु बाट नडराई उचित निर्णय गर्न सक्नु पर्छ' उनले भनिन् । 'नाकाबन्दी र भूकम्प हामीले पार गरिसकेका छौ । अहिलेको बेला भनेको काम गर्ने शैली परिर्वतन गर्न जरुरी छ । अब डिजिटल काममा जोड दिनुपर्ने आवश्यकता छ । आगामी दिनमा बजारमा इनोभेटिभ जनशक्तीको आवश्यकता पर्दे जानमा दुई मत छैन ।'

त्यस्तै कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनले नयाँ नयाँ आइडिया ल्याउनेलाई बैंकहरुले सघाउनुपर्ने बताए । 'नयाँ आइडिया ल्याउन पनि पैसा चाहिने हुँदा यस क्षेत्रमा बैंक, व्यवसायी, साहु, महाजन, एनजिओ, आइएनजिओ कसैले पनि खर्च गर्न तयार हुँदैनन् । जसले गर्दा स्टार्टअप जन्मन सकेका छैनन् । स्टार्टअप जन्मन सहयोग पुग्ने गरी बैंक तथा वित्तीय संस्थाले काम गर्ने हो भने अहिलेको संकटमा हामी मुलुक भित्रै केही गर्न सक्ने अवस्थामा पुग्नेछौं' उनले भने ।

अनुसन्धान, इनोभेशन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रका स्टार्टअप र इनोभेशनमा बैंकहरुले सहज रुपमा कर्जा दिने अवस्था सृजना गर्नुपर्ने उनको भनाई । आन्तरिक उत्पादन बढाउन पनि अनुुसन्धान र इनोभेशन गनुपर्ने उनको जोड छ । 'दैनिक उपयोगमा चाहिने अत्यावश्यक वस्तुहरु स्वेदशमै उत्पादन गर्नेतर्फ सरकारले लगानी बढाउनुपर्छ' पुनले भने ।

कलेजले रोजगारी खाज्ने भन्दा पनि रोजगारी सृजना गर्ने जनशत्ति उत्पादन गर्ने लक्ष्यका साथ अध्यायपन गराउदै आइरहेको एमबिए कार्यक्रमका निर्देशक वसन्त ढकालले नोटबजारलाई बताए । समय अनुसार कार्यक्रमको शैली परिवर्तन गर्नु परेको बताएका उनले भौतिक रुपमा भन्दा भर्चुअल कार्यक्रममा स्रोत ब्यक्ती जुटाउन सहज भएको बताए । यसैको श्रृंखला अनुरुप शनिबारको कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।

पोखरा विश्जविद्यालयबाट सम्बन्धन पाएको राजधानी मोडल कलेजले एमबीए, बीएचएचएम तथा बीबीए अध्ययन तथा अध्यापन गराउँदै आएको छ ।