बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया क्यापिटल लिमिटेड अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ । क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशनमा ल्याउन लागेको हो ।
सो योजनाको इकाईका लागि जेठ १९ गतेदेखि आवेदन दिन सकिनेछ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो ।
निष्काशन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार २ गतेसम्म आवेदन म्याद थप गर्न सकिनेछ ।
७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो ।
एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
प्रतिक्रिया