पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने


ललितपुर – ललितपुर पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने भएको छ । वडा नं १६ कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार स्थानीय जात्रा, पहिरन, पहिचान र संस्कृतिलाई उजागर गर्नुका साथै स्थानीय उत्पादनलाई बजारीकरण गर्ने अभिप्रायका साथ ललितपुर महानगरपालिकाको वडा नं १६ महिला समितिको आयोजनामा यही कात्तिक ११ र १२ गते साँझ ४ देखि ९ बजेसम्म रात्रिकालीन व्यापार मेला गर्न लागिएको हो ।

वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पर्यटनको प्रचुर सम्भावना बोकेको सहरमा बसेका स्थानीयलाई आयआर्जनमा जोड्न यो प्रयास महत्त्वपूर्ण हुने बताए ।

‘यो मेलामा हस्तकला महासङ्घ, पाटन पर्यटन विकास संस्थाको पनि सहयोग रहने विश्वास छ, महानगरपालिकाको दीर्घकालीन योजनालाई सहयोग पुर्‍याउने उद्देश्यअनुसार यो कदम चालिएको हो । महिलाले घरघरमा उत्पादन गरेका हस्तकलालगायत सामग्री बिक्री गरेर आर्थिकोपार्जन गर्न सक्ने अवसर मिल्ने छ,’ उनले भने ।

अध्यक्ष शाक्यले यसबाट स्थानीय श्रम, सीप र क्षमताको बजारीकरण हुनुका साथै समुदायको आयआर्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मेलाका समयमा साङ्गीतिक कार्यक्रमसमेत गरिने उनले जानकारी गराए ।

मेलामा स्थानीय हस्तकलाका सामग्री, स्थानीय नेवारी खानाका परिकार समावेश हुने आयोजकले जनाएको छ । जात्रा, पहिरन, हाम्रो पहिचान र संस्कृतिलाई प्रचारप्रसार गर्ने अभिप्रायले हुन लागेको यो कार्यक्रमलाई अझ परिस्कृत गरेर लैजाने अध्यक्ष शाक्यले बताए । आगामी वर्षदेखि मेलालाई व्यवस्थित बनाउन बृहत् रूपमा तालिका बनाएर सञ्चालन गरिने उनले जानकारी दिए ।