तरलता अभाव कायमैः वाणिज्य बैंकहरुले एक महिनामै १९ अर्ब निक्षेप गुमाए, कर्जा प्रवाह पनि घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

स्थानीय तहको चुनावले वित्तीय क्षेत्रमा अनौपचारिक क्षेत्रको रकम भित्रिने अपेक्षा विपरित वाणिज्य बैंकहरूको निक्षेप १९ अर्ब रूपैयाँले घटेको छ। नेपाल बैंकर्स संघले पठाएको तथ्यांक अनुसार चैत अन्त्यको तुलनामा वैशाख अन्त्यमा वाणिज्य बैंकहरूबाट निक्षेप १८ अर्ब ९२ करोड रूपैयाँले घटेको हो। 

विदेशी मुद्रामा खोलिएको निक्षेप खातामा एक अर्ब रूपैयाँले निक्षेप घट्दा स्वेदेशी मुद्रामा रहेको निक्षेप भने १७ अर्ब रूपैयाँले घटेको हो। नेपाल आयल निगमले भारतीय आयल निगमलाई दिएको भुक्तानीको कारण निक्षेप घटेको बैंकरहरूले अनुमान गरेका छन्।सबैभन्दा धेरै एनआइसी एशिया बैंकबाट ६ अर्ब रूपैयाँले निक्षेप घटेको हो। एभरेष्ट बैैंकमा भने २ अर्ब ४८ करोड रूपैयाँले निक्षेप बढेको छ। 

निक्षेपमा ह्रास आएसँगै बैंकहरूको कर्जा लगानी समेत करिब ६ अर्ब रूपैयाँले घटेको छ। बैंकहरूले आगामी असार मसान्तसम्म कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९० मा सीमित पार्नुपर्ने भएकोले पनि कर्जा घटाउनुको विकल्प नदेखिएको हो। 

निर्वाचनको कारण व्यवसायीहरूले कर्जाको लिमिट घटाएको तथा केही ऋण तिरेको कारण कर्जा लगानी घटेको हुनसक्ने बैंकरहरू बताउँछन्। हाल सबै बैंक तथा वित्तीय संस्थाको औसत सिडी रेसियो ९०.४४ प्रतिशत छ।