नबिलका सीईओ शाह भन्छनः नेपालमा एनसेललाई नबिलले ल्याएको हो, अझै पसिना बगाएर विदेशी लगानी ल्याउँछौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लगानी बोर्ड र नबिल बैंकबीच विदेशी लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ । बुधबार लगानी बोर्डको कार्यालयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शाहले विदेशी लगानी ल्याउने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि भन्दै नबिल बैंक र बोर्डबीच सम्झौता भएको हो । नबिल बैंकका सीईओ अनिल केशरी शाहले यसअघि पनि नबिल बैंकले विदेशी लगानी भित्र्याउनका लागि महत्वपूर्ण काम गरेको बताउँदै अझै पनि काम गर्ने धारणा राखे । उनले हालसम्म नेपालमा सञ्चालित ठूलो परियोजना तथा कम्पनीहरूमा विदेशी लगानी ल्याउनका लागि नबिल बैंकले भूमिका खेलेको बताउँदै उनले नबिल बैंक देशमा अझै पनि विदेशी लगानी भित्र्याउनका लागि तत्पर नै रहने बताए ।

‘अरुण तेस्रोको वित्तीय व्यवस्थापनमा पनि हामीले काम गरेका छौं, अहिले विदेशी लगानी रहेको एनसेललाई नै हामीले ल्याएका हौं, नेपालको विकासका लागि नबिल बैंकले महत्वपूर्ण भूमिका खेलेको छ, नबिल बैंकक पहिलेदेखि विदशी लगानी ल्याउनमा फोकस छ, अझै पनि हामी पसिना बगाएर काम गर्न चाहन्छौं,’ सीईओ शाहले भने ।

यस्तै, उनले भौतिक पूर्वाधार विकासमा धैर्यता चाहिने बताउँदै त्यो धैर्यता नबिल बैंकको टीममा पनि रहेको बताए । यस सम्झौताले आगामी दिनहरूमा काम गर्न सजिलो नै हुने बताउँदै उनले भिजन डकुमेन्टले झन सहज हुने धारणा राखे  नेपालबाट १०० मेगावाट मात्रै भारतमा बिजुली निर्यात गर्न सकिए पनि धेरै फाइदा हुने बताउँदै जलविद्युत क्षेत्रमा पनि लगानी बढाउनु पर्ने उनको भनाइ छ ।

‘नबिल बैंकले सटर खोल्ने अनि पैसा लिने दिने काम मात्रै गर्दैन, हामी देशको लगानी गर्न चाहन्छौं, देशलाई परिवर्तन गर्नका लागि लगानीको आवश्यक छ, यो सम्झौता सुरुवात मात्रै हो, अब नबिल बैंकले पसिना बगाएर विदेशी लगानी ल्याउँछ,’ उनले भने ।

यस्तै, सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले पनि नबिल बैंकले नाफा मात्रै नहेरेर सस्टेनेबल बैंकिङसँगै सस्टेनेबल देशमा पनि ध्यान दिएको बताए । बैंकिङ क्षेत्र लगानी प्रवद्र्धनको महत्वपूर्ण क्षेत्र भएकोले विदेशी लगानी भित्र्याउनका लागि बैंकहरूसँग सम्झौता गर्नु महत्वपूर्ण कार्य भएको बताए ।

‘लगानी बोर्ड आएपछि संरचनागत हिसाबमा धेरै काम भएको छ, बैंकिङ क्षेत्र र लगानी बोर्ड मिलेर पूर्वाधार विकासमा धेरै काम गर्न सकिन्छ, पर्यटन, जलविद्युत, सेवा तथा शिक्षा क्षेत्रमा लगानीका समभावना र अवसरहरू पनि छन्, हामीले पनि त्यसमा ध्यान दिएका छौं,’ उनले भने ।

यस्तै, सम्झौतापछि लगानी बोर्डका सीइओ सुशिल भट्टले विदेशी लगानी भित्र्याउनका लागि बैंकको भूमिका महत्वपूर्ण हुने धारणा राखे । उनले लगानी बोर्ड स्थापना भएको १० वर्षपछि लगानी भित्र्याउनका लागि पहिलो पटक बैंकलाई साझेदार बनाएर काम गरेको बताउँदै नबिल बैंकसँगको सम्झौताले विदेशी लगानी भित्र्याउनमा धेरै सहयोग पुग्ने अपेक्षा रहेको बताए ।

‘देशको आर्थिक विकासका लागि सोच्न आवश्यक छ, यसमा निजि क्षेत्रलाई कसरी समाहित गर्ने, उनीहरुको मनोबल बढाउने भन्ने विषयमा हामी पनि सोच्दै आएका छौं, बैंकिङ क्षेत्र पनि एक महत्वपूर्ण क्षेत्र हो, त्यसैले पनि हामीले नबिल बैंकसँग सम्झौता गरेका छौं,’ उनले भने । यस्तै, उनले लगानी बोर्डमा ३ खर्बका परियोजना कार्यान्वयनमा गइसकेको र ३० खर्बको लगानीको प्रस्ताव आएको बताए ।