एनएमबि लघुवित्तले नाफा ३८ प्रतिशतले बढायो

एनएमबि लघुवित्तले नाफा ३८ प्रतिशतले बढायो


बैकिङ्ग समाचार ।

एनएमबि लघुवित्तले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा यस आर्थिक बर्षको सोहि अवधिमा ३८ प्रतिशत बढी खुद नाफा गरेको छ । कम्पनीको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गत वर्ष रू. ३ करोड ३२ लाख ८१ हजार खुद नाफा गरेकोमा यस वर्ष सोहि अवधिसम्म रू. ४ करोड ५९ लाख ७४ हजार खुद नाफा गरेको हो ।

 यस वर्ष सञ्चालन नाफा भने गत वर्षभन्दा ७० दशमलव ७२ प्रतिशत कम भएको छ । गत वर्षभन्दा यस वर्ष ३०८ प्रतिशत बढी सम्भावित जोखिम शिर्षकमा रकम छुट्याएकाले सञ्चालन नाफा भने घट्न पुगेको हो । गत वर्ष रू. ५ करोड ११ लाख सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ४९ लाख मात्र यो नाफा गरेको हो । 

कम्पनीले गत वर्ष सम्भावित जोखिम शिर्षकमा रू. १ करोड ७० लाख ५१ हजार छुट्याएकोमा यस वर्ष रू. ६ करोड ९७ लाख १९ हजार छुट्याएको छ । जसको प्रत्यक्ष असर कम्पनीको सञ्चालन नाफामा परेको छ । खुद नाफा बढ्नमा भने खराब कर्जा संकलनले सहयोग गरेको छ । गत वर्ष शून्य रहेको खराब कर्जा संकलन रकम यस वर्ष रू. ५ करोड ६९ लाख ७७ हजार छ । निष्क्रिय कर्जा अनुपात २ दशमलव ४५ प्रतिशतदेखि बढेर ३ दशमलव ४६ प्रतिशत पुगेको छ ।

यसै वर्ष कम्पनीले १५० प्रतिशत हकप्रद विक्री गरेको थियो । उक्त हकप्रद शेयर पश्चात कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस पस्ताव गरेको कम्पनीको सो प्रस्ताव भने हालसम्म पारित भएको छैन् । गत चैत २६ गते सातौं वार्षिक साधारण सभामा बोनसको प्रस्ताव पारित गर्ने कार्यक्रम रहे पनि कोरोना संक्रमणका कारण सभा हुन सकेको छैन् । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड ५० लाख १६ हजार पुगेको छ ।

जगेडा कोष रकम गत वर्षभन्दा १०४ प्रतिशत बढी रू. २४ करोड ४८ लाख ३८ हजार कायम भएको छ । यस वर्ष रू. २ अर्ब २८ करोड ६० लाख कर्जा सापटी लिएर रू. ३ अर्ब ५५ करोड ४ लाख कर्जा प्रवाह गरेको कम्पनीले रू. १ अर्ब ४० करोड २६ लाख निक्षेप संकलन गरेको छ । 

हाल कम्पनीले ५४ जिल्लामा एक सय शाखा कार्यालयमार्फत १ लाख भन्दा बढी घरपरिवारमा सेवा प्रदान गरिरहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ५१ र प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव ९७ छ ।