हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको बरुण हाइड्रोपावरको नाफा ३०५% बढ्यो

हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको बरुण हाइड्रोपावरको नाफा ३०५% बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
बरुण हाइड्रोपावर कम्पनीले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३०५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ५२ लाख ७२ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ करोड १४ लाख पुगेको हो । चालू आवमा कम्पनीको विद्युत् विक्री आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

विद्युत् विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ५२ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. ४ करोड ५८ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ६ करोड ९९ लाख पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. २६ करोड ७९ लाख रहेको छ भने चालू आवमा कम्पनीले जगेडामा रू. २ करोड ६४ लाख सञ्चित गरेको हो ।

चालू आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव ८३ (वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ३५ दशमलव ७४ गुणा, तरलता अनुपात ३ दशलमव १४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०९ दशलमव ८६ रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको हो । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । अव आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ ।