साताको अन्य दिन लगातार बढेको नेप्सेमा अन्तिम दिन आज दोहोरो अंकको गिरावट

साताको अन्य दिन लगातार बढेको नेप्सेमा अन्तिम दिन आज दोहोरो अंकको गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
केहि दिनदेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बिहिबार भने घटेको छ । यस साताको कारोबारको अन्तिम दिन आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । आज नेप्से १८.६४ अंकले घटेर २ हजार ३ सय ५० दशमलव ४२ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ५६.०६ अंकले बढेर २ हजार ३ सय ६९ दशमलव ०६ विन्दुमा पुगेको थियो । 

शेयर बजार घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ । आज २ अर्ब ३२ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार २ अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।     

आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १५१ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४४८.६० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, आज सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेर प्रतिकित्ता १२३६.१० रुपैयाँमा झरेको छ । 

कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ११ करोड १० लाख भन्दा बढीको कारोबार भएको छ ।