बैंकहरुको २८ खर्ब भन्दा बढि लगानी, खराब कर्जा जम्मा १ प्रतिशत 

बैंकहरुको २८ खर्ब भन्दा बढि लगानी, खराब कर्जा जम्मा १ प्रतिशत 


बैकिङ्ग समाचार । 
चालु आर्थिक वर्ष २०७६/७७ को चैतसम्ममा बैंकहरुले २८ खर्ब रुपैयाँ भन्दा धेरै कर्जा प्रवाह गर्दापनि खराब कर्जा भने साढे एक प्रतिशत भन्दाकेही माथि मात्र रहेको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकको कसिलो प्रोभिजनिङ्गको व्यवस्थाले उच्चदरमा कर्जा बढेको भएपनि कर्जा नउठ्ने समस्या नदेखिएको हो। तर, अन्तराष्ट्रिय मुद्रा कोषले नेपालमा न्यून खराब कर्जा हुनु भनेको इभरग्रिनिङ्गका कारणले हो भन्दै आएको छ।

आइएमएफको तर्कमा बैंकहरु भने सहत छैनन्। कर्जाको आकार ठुलो हुँदै गएको अवस्थामा खराब कर्जा भने घट्दै जानुले समग्र बैंकिङ्ग क्षेत्रप्रति शंका भने गर्न सकिन्छ । वाणिज्य बैंकहरुको कर्जा प्रवाह वृद्धिदर हरेक वर्ष करिब २० प्रतिशत भन्दा धेरैले बढ्दो छ ।

२७ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको चैतसम्ममा कुल २८ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो कर्जा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.४७ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले २४ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

चालु आर्थिक वर्षको चैतसम्ममा बैंकहरुको औसत खराज कर्जा १.६६ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्क छ। तर, यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केही धेरै हो । गत आर्थिक वर्षको चैतसम्ममा बैंकहरुको औसत खराब कर्जा १.६४ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा विश्वभरी फैलिएको कोरोना भाइरसको त्रासका कारण नेपालमा पनि लकडाउन गरेको अवस्था हो । त्यसका साथै ब्यापार ब्यावसायमा साथै लकडाउनका कारण असर परेको भन्दा कर्जा तथा ब्याज चुक्ता गर्नुपर्ने समयअवधि थप गरेको तथा सम्पुर्ण आर्थिक क्रियाकलाप ठप्प भएको हुनाले पनि खरब कर्जा बढेको देखिएको हो । आगामी दिनमा यस्तो अंश अझै उच्च रहने बैंकहरु बताउछन्।

नेपालको बैंकिङ्ग प्रणालिमा बैंकहरुले भाखा ननाघेका र १ महिनासम्म भाखा नाघेका असल कर्जाका लागि एक प्रतिशत, १ महिनादेखि तीन महिनासम्म भाखा नाघेका सुक्ष्म निगरानीको कर्जाका लागि ५ प्रतिशत, ३ महिनादेखि ६ महिनासम्म भाखा नाघेका कमसल कर्जा÷सापटमा २५ प्रतिशत, ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेको शंकास्पद कर्जाका लागि ५० प्रतिशत तथा १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका खराब कर्जाका लागि शतप्रतिशत प्रोभिजनिङ्ग गर्नुपर्ने ब्यवस्था गरेको छ । यसले गर्दा पनि बैंकहरुको खराब कर्जाको अंश सीमाभित्र नै रहेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा धेरै खराब कर्जा हुने बैंकमा सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सो अवधिमा बैंकको खराब कर्जा ३.६५ प्रतिशत रहेको छ । त्यसैगरी सरकारी लगानी रहेको कृषि विकास बैंकको पनि ३.६५ प्रतिशत नै खराब कर्जा रहेको छ ।