नबिलमा बंगलादेश बैंक गाभिएपछि बन्छ दोस्रो ठूलो बैंक, ज्ञानेन्द्र प्रसाद ढुंगाना नयाँ सिइओ  

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल बंगलादेश बैंकलाई प्राप्त (एक्वायर) गरेपछि नबिल बैंक मुलुककै दोस्रो ठूलो वाणिज्य बैंक बन्ने भएको छ। यी दुवै बैंकले आगामी ७ जेठका लागि विशेष साधारण सभा बोलाएका छन्। नबिल बैंकको एक कित्ता सेयर बराबर बंगलादेश बैंकको ०.४३ अनुपात हुने गरी प्राप्ति हुन लागेको हो। अर्थात् अब नेपाल बंगलादेशको एक सय कित्ता सेयर हुनेले नबिलको ४३ कित्ता सेयर पाउनेछन्। 

प्राप्तीपछि यस्तो हुनेछ नबिलको वित्तिय अवस्था 

नेपाल बंगलादेशलाई नबिलले प्राप्ति गरेपछि बन्ने बैंकको नाम नबिल बैंक नै रहनेछ। यो प्राप्तिपछि नबिल बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रूपैयाँ हुनेछ। हाल नबिलको १८ अर्ब ४९ करोड चुक्तापुँजी छ भने नेपाल बंगलादेशको १० अर्ब ८ करोड रूपैयाँ छ। चुक्तापुँजीको परिमाणका आधारमा अब बन्ने नबिल दोस्रो ठूलो वाणिज्य बैंक बन्नेछ। खुद ब्याज आम्दानी, कुल सञ्चालन आय, सञ्चालन आम्दानी, नाफा लगायतका आधारमा भने निजी क्षेत्रको पहिलो बैंक भएको कम्पनीको दाबी छ।

हाल सबभन्दा धेरै चुक्तापुँजी (२३ अर्ब ७९ करोड रूपैयाँ) सहित ग्लोबल आइएमइ देशकै ठूलो बैंक हो। प्राप्तिपछि नबिलको शाखा संख्या २ सय ४८ पुग्नेछ। हाल नबिलका एक सय ४८ र नेपाल बंगलादेशका करिब एक सय शाखा छन्।

नेपाल बंगलादेशमा निक्षेप खाता खोलेका वा कर्जा लिएकाहरू अब नबिल बैंककै ग्राहक हुने छन्। प्राप्तिपछि नबिल बैंकको निक्षेप संकलन ३ खर्ब १६ अर्ब रूपैयाँ र कर्जा लगानी २ अर्ब ९७ करोड रूपैयाँ पुग्नेछ। 

ज्ञानेन्द्र प्रसाद ढुंगाना अब बन्ने नबिल बैंकका नयाँ सिइओ  

प्राप्तिपछि नबिल बैंकमा कुल ७ सदस्यीय सञ्चालक समिति हुनेछ। यो सञ्चालक समितिमा नेपाल बंगलादेश बैंकबाट एक जनाले प्रतिनिधित्व गर्ने सम्भावना छ। त्यस्तै हाल नेपाल बंगलादेशका सिइओ ज्ञानेन्द्र प्रसाद ढुंगाना अब बन्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत हुने स्रोतले बताएको छ। यता नबिल बैंकका हालका प्रमुख कार्यकारी अधिकृतको चार वर्षे पहिलो कार्यकाल पनि लगभग अन्त्य हुन लागेको छ। 

नेपाल बंगलादेश बैंकमा रहेको आइएफआइसी बैंक, बंगलादेशको सेयर यसअघि नै नबिल बैंकका प्रवर्द्धक तथा अर्बपति विनोद चौधरीकी श्रीमतीको नाममा खरिद गरिसकिएको छ। आइएफआइसी बैंकको नेपाल बंगलादेश बैंकमा ४०.९० प्रतिशत सेयर थियो।

हाल नबिल बैंकमा विनोद, उनकी श्रीमती शारिका र छोरा निर्वाणको २.२८ प्रतिशत सेयर छ। चौधरी समूहको कम्पनी एनबी (इन्टरनेसनल) लिमिटेडको नामबाट पनि ४८.६९ प्रतिशत सेयर छ। प्राप्तिपछि नेपाल बंगलादेश र नबिल दुवैतर्फको सेयर स्वामित्व मिलाएर चौधरी समूहको करिब ४८.८८ प्रतिशत हुने भएको छ।