शेयर निष्काशन तथा सूचीकरण सम्बन्धी नियममा कडाई गरिने

शेयर निष्काशन तथा सूचीकरण सम्बन्धी नियममा कडाई गरिने


बैकिङ्ग समाचार । 
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकले प्राथमिक शेयर निस्कासन (आईपीओ) मा कडाई गर्ने भएको छ । यस मामिलाबारे जानकार स्रोतले सोमवार बताएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले यस्तो समाचार छापेको छ ।

समाचारअनुसार एक्सचेञ्जले आईपीओमा प्रतिबन्ध सम्बन्धी नयाँ नियम ल्याउँदैछ । यसले एक्सचेञ्जमा केही चिनियाँ कम्पनीहरुको सूचीकरण गाह्रो हुनेछ ।

चिनियाँ कम्पनीहरुलाई नै लक्षित गरेर यो नियम ल्याइएको भनेर नास्डाकले केही भनेको छैन । तर पछिल्लो परिवर्तन लेखांकन पारदर्शिता नभएका र शक्तिशाली इन्साइडरसँगको निकट सम्बन्ध रहेका चिनियाँ कम्पनीको आईपीओ रोक्ने विश्लेषकहरु बताउँछन् ।

अमेरिका र चीनबीच व्यापार प्रविधि र कोरोना भाइरसको महामारी फैलिएको विषयमा तनाव बढेकै समयमा नास्डाकले चाल्न थालेको यो कदमले दुई देशबीचको वित्तीय सम्बन्धमा आएको दरार उजागर गरेको छ ।

साना चिनियाँ कम्पनीहरुको आइपीओमा कडाई गर्न गत वर्ष पनि नास्डाकले नयाँ नियमहरु सार्वजनिक गरेको थियो । नयाँ नियमअनुसार चीन लगायत केही देशका कम्पनीहरुले आईपीओमा २ करोड ५० लाख वा सूचिकरण पूर्वको बजार पूँजीकरणको कम्तिमा एक चौथाई उठाउनु पर्ने स्रोतको भनाइ छ । आईपीओको आकारमा नास्डाकले न्यूनतम मूल्य तोकेको यो पहिलो पटक हो।

यो नियम पहिला नै लागू गरिएको भए अहिले नास्डाकमा सूचिकृत कयौं चिनियाँ कम्पनीको सूचिकरण नै हुने थिएन । सन् २००० यता नास्डाकमा सूचिकृत भएको १५५ चिनियाँ कम्पनी मध्ये ४० ओटाले आईपीओमा २ करोड ५० लाख डलरभन्दा कम उठाएको वित्तीय तथ्यांक प्रदायक कम्पनी रिफिनिटिभको तथ्यांकले देखाएको छ ।