दोर्दी खोलाको आईपीओमा आवेदन दिने म्याद जेठ ५ गतेसम्म थप

दोर्दी खोलाको आईपीओमा आवेदन दिने म्याद जेठ ५ गतेसम्म थप


बैंकिङ्ग समाचार, काठमाडौं ।
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आवेदन दिने समय जेठ ५ गतेसम्मका लागि थपिएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाका स्थानीय बासिन्दाहरुका लागि बैशाख १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

साधारण सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ्ग जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु बाट आवेदन दिन सक्नेछन् । यसैगरी सिद्धार्थ बैंकको बेसीशहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशत सेयर बिक्रीमा ल्याएको हो । जसअनुसार प्रतिकित्ता १०० अंकित दरका १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ मूल्यको १० लाख ५४ हजार २६० कित्ता सेयर जारी गरिएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।