संसदको बजेट अधिवेशन जेठ ३ गतेदेखि, १८ खर्बको सिलिङ

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
संघीय संसदको बजेट अधिवेशन जेठ ३ देखि शुरू हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आईतवार ३ गतेका लागि अधिवेशन डाकेकी हुन् । संसदको बजेट अधिवेशन डाकिएसँगै अब संसदमा प्रि बजेट छलफल शुरु हुने भएको छ । जेठ ३ गते नै बजेटका सिद्दान्त र प्राथमिकता संसदमा प्रस्तुत गरिने अर्थमन्त्रालयले जनाएको छ । ‘बजेटका प्राथमिकता र सिद्दान्त तयार भइसकेको छ’ अर्थमन्त्रीको सचिवालयका एक अधिकारीले भने, ‘बजेट अधिवेशन शुरु भएकै दिन संसदमा प्रस्तुत गर्ने छौं ।’

जेठ १५ गते संघीय संसदमा वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रतिनिधिसभा नियमावली २०७५ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ले संसदमा बजेट पेश गर्नुभन्दा १५ दिन अघि नै ‘संसदमा बजेटका सिद्दान्त र प्राथमिकतामाथि’ छलफल सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । तर, नियम तथा कानुनले तोकेको म्याद गुज्रिसकेपछि सरकारले संसदमा ‘प्रि बजेट’ छलफल चलाउने तयारी गरेको हो ।

१८ खर्बको सिलिङ

मध्यमकालीन खर्च संरचना २०७८/७९ अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको सीमा १७ खर्ब ९३ अर्ब रुपैयाँ तोकिएको छ । मन्त्रालयले गठन गरेको बजेट मस्यौदा लेखन समितिले उक्त सिलिङलाई आधार बनाएर बजेट लेखन गर्नेछन् ।

अर्थ मन्त्रायलले गत चैत २ गते मन्त्रालय अन्तरगतकै राजस्व व्यवस्थापन महाशाखाका प्रमुख भुपाल बरालको संयोजकत्वमा ५ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेको थियो ।समितिको सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखाका प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी तोकिएका छन् ।

अर्थले तोकेको उक्त कोर टिमले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार पार्नेछ । बजेट वक्तव्यको मस्यौदा समेत यसै टिमबाट तयार हुनेछ । अर्थलाई बजेट लेखनको प्रक्रियामा राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राजस्व परामर्श विकास समितिले तोकिएको जिम्मेवारी अनुसार सहयोग गर्ने गर्छन् ।