ऋणीलाई ब्याज बुझाउन दबाव दिँदै बैंक, दिनमा ४ पटकसम्म फोन आएको गुनासो 

ऋणीलाई ब्याज बुझाउन दबाव दिँदै बैंक, दिनमा ४ पटकसम्म फोन आएको गुनासो 


बैकिङ्ग समाचार । 

राष्ट्र बैंकले ऋणको साँवा/ब्याज तिर्ने समय असार मसान्त पुर्याएपछि बैंकहरुले ऋणीलाई फोन गरेर धमाधम कर्जाको साँवा/ब्याज तिर्न दबाब दिन थालेको पाइएको छ । 

कोरोना भाइरस र लामो समयको लकडाउनले व्यापारर/व्यवसाय ठप्प भएपछि केन्द्रीय बैंकले चैत मसान्तमा तिर्नुपर्ने किस्ता असारमा पुर्याएपछि पनि बैंकहरुले साना तथा मझौला ऋणीलाई फोन गरेर तत्काल ऋणको साँवा ब्याज तिर्न दबाब दिन थालेको एक उद्योगीले बताए । आफ्नो नाम नबताउने सर्तमा बैंकिङ समाचारसँग कुरा गर्दै उनले भने ‘केही दिन अघि सेन्चुरी बैंकले फोन गरेर तत्काल तिर्नुपर्ने ब्याज मागेको हो । त्यसैगरी अन्य बैंकले पनि धमाधम फोन गरेर किस्ता, साँवा र ब्याज तिर्न दबाब दिइरहेका छन् ।  तर यस्तो बेलामा कसरी तिर्ने ।’ तर, बैंकले ठूला उद्योगीलाई भने ऋण तिर्न कुनै दबाब नदिएको स्रोत बताउँछ । 

केन्द्रीय बैंकको निर्देशनलाई लत्याउँदै बैंकले ठूला उद्योगीलाई छाडेर सानालाई दबाब दिन थालेका हुन् । ठूला उद्योगीको माथिल्लो निकायसम्म पहुँच हुने र उनीहरुलाई फोन गरेर ऋण तिर्न दबाब दिँदा बैंक आफै अप्ठयारोमा पर्ने भए पनि उनीहरुको केन्द्रमा साना तथा मझौला उद्योगी परेको साना उद्योगीहरु बताउँछन् । 

‘कोरोना संक्रमण रोक्न सरकारले निरन्तर लकडाउन गरेपछि व्यापार व्यवसाय चौपट बनेको छ । यस्तो अवस्थामा बैंकबाट लिएको ऋण कसरी तिर्न सकिन्छ ’ ती उद्योगीले भने, ‘तर, बैंकले दिनको तीन चोटीसम्म फोन गरेर ब्याज भर्न ताकेता गरिरहेका छन् ।’ 

बैंकले ठूला र साना उद्योगीबीच विभेद गरेको उनीहरुको आरोप छ । ठूला उद्योगीले लिएको ऋणको ब्याजमा २ प्रतिशत छुट पनि दिइसकेका छन् । साना उद्योगीले राष्ट्र बैंकले दिएको सुविधा माग्दा छुट नपाउने अन्तर्गत कर्जा लिएकाले छुट दिन नसक्ने बैंकहरुले जवाफ फर्काउने गरेको उद्योगीहरुको गुनासो छ ।