चैत महिनामा ४१ अर्ब १२ करोड अन्तर बैंक कारोबार

चैत महिनामा ४१ अर्ब १२ करोड अन्तर बैंक कारोबार


बैकिङ्ग समाचार । 

बैंक तथा वित्तीय संस्थाले चैत महिनामा मात्र ४१ अर्ब १२ करोड रुपैयाँको अन्तर बैंक कारोबार गरेका छन् । वित्तीय संस्थाले गरेको सो कारोबारमध्य ३४ अर्ब ६४ करोड वाणिज्य बैंकहरूबीच भएको हो भने ६ अर्ब ४८ करोड वाणिज्य बैंक बाहेक अन्य वित्तीय संस्थाबाट भएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको चैतसम्म वाणिज्य बैंकहरूबीच कुल १२ खर्ब ६२ अर्ब २७ करोड अन्तर बैंक कारोबार भएको छ भने अन्य वित्तीय संस्थाबीच एक खर्ब १६ अर्ब रुपैयाँको कारोबार भएको छ । फागुनसम्म वाणिज्य बैंकहरूबीच १२ खर्ब २७ अर्ब ६३ करोडको कारोबार भएको थियो भने अन्य वित्तीय संस्थाबीच एक खर्ब १० अर्ब ५ करोड अन्तर बैंक कारोबार भएको थियो  ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले गत आवको भन्दा यस आवको चैत महिनामा निक्षेप र कर्जा दुबैको औसत ब्याजदर घटेको देखाएको छ । बैंक तथा वित्तीय संस्थाको चैत महिनामा ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.१३ प्रतिशत कायम रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो औसत ब्याजदर ४.४४ प्रतिशत कायम रहेको थियो  । 

वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबारमा निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा अन्तर बैंक कारबोरमा निक्षेपको भारित औसत ब्याजदर ६.६७ प्रतिशत र कर्जाको १२.२८ प्रतिशत रहेको थियो ।