रिभर फल्स पावरले बैशाख २८ देखि सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने

रिभर फल्स पावरले बैशाख २८ देखि सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने


बैंकिङ्ग समाचार, काठमाडौं ।
रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । जारी सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । २५ लाख ३८ हजार ९०० कित्ता सेयर खरीदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एप तथा वेबसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आईपीओमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओ छिटोमा जेठ ४ गते निष्काशन बन्द हुनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

रिभर फल्स पावर कम्पनीले यसअघि चैत २७ देखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ७ लाख कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३० मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।