बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडेको हिमालयन बैंकले चालु आर्थिक वर्षभित्रमा मर्जरको नयाँ सम्झौता गर्ने भएको छ । त्यसका लागि अर्को एक वाणिज्य बैंकसँग मर्जरको गोप्य सम्झौता गरिसकेको स्रोत बताउँछ । ‘हामीले एक वाणिज्य बैंकसँग मर्जरका लागि नन डिस्क्लोजर एग्रिमेन्ट अर्थात अत्यन्तै गोप्य सम्झौता भइसकेको छ ।’ एक सञ्चालकले भने, ‘दुईदेखि तीन साताभित्र मर्जरको सैद्दान्तिक समझदारीमा औपचारिक रुपमा नै हस्ताक्षर हुन्छ ।’
सिभिल, सेञ्चुरी र बैंक अफ काठमाण्डूमा एउटा पक्का
हिमालयन बैंकले इन्भेष्टमेन्टसँग मर्जर भाँडेपछि आफूसँग मर्जर गराउने उद्देश्यले ३ वटा वाणिज्य बैंकसँग कुरा गरेको छ । बैंकमा रहेका विभिन्न लगानीकर्ताको समूहले सिभिल, बैंक अफ काठमाण्डू तथा सेञ्चुरी बैंकसँग कुरा गरेका छन् ।
सिभिल बैंकसँग मर्जको सम्भावना बढ्यो
स्रोतका अनुसार हिमालयनसँग यस्तो सम्झौता गर्ने पहिलो नम्बरमा सिभिल बैंक हुनसक्ने प्रवल सम्भावना रहेको देखिएको छ । सिभिल नभए मात्रै बैंक अफ काठमाण्डू वा सेञ्चुरी हुनसक्छ । सिभिलमा हिमालयन बैंकका संस्थापक लगानीकर्ता राणा समूह तथा कर्मचारी सञ्चय कोषको लगानी छ । यसै पनि बैंक अफ काठमाण्डूमा पनि सञ्चय कोषको लगानी छ ।
सेञ्चुरी बैंकमा भने बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र हिमालयनका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठबीच निकट सम्बन्ध रहेको हुँदा मर्जरको कुरा अगाडी बढेको स्रोतको दाबी छ । स्रोतका अनुसार सिभिल नभएको अवस्थामा मात्रै बैंक अफ काठमाण्डू र सेञ्चुरी हुन सक्छन्, त्यसबाहेक अरु बैंकसँगको संभावना अत्यन्तै न्यून छ । सिभिल बैंकमा संस्थागतरुपमा कर्मचारी सञ्चय कोषको ८ प्रतिशत सेयर स्वामित्व छ । हिमालयन बैंकमा १४ प्रतिशत सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको छ ।
राणा परिवारको समेत सिभिल बैंकमा केही प्रतिशत सेयर छ । सिभिलसँग मर्जरमा जाने निर्णय गर्दा सञ्चय कोषले यसको बिपक्षमा निर्णय गर्न सक्दैन । सिभिल बैंकमा अब एउटा सञ्चालक पठाउन सक्ने सेयर स्वामित्व कोषसँग रहेको हुँदा नैतिकरुपमा कोष पनि सिभिललाई लिन बाध्य हुन्छ । यसबाहेक हिमालयनका लगानीकर्तालाई सिभिलका संस्थापक अध्यक्ष इच्छाराज तामाङको नाममा रहेको समेत सेयर लिएर स्वामित्व बढाउन सकिने योजना छ ।
सिभिल बैंक उच्च स्रोतका अनुसार हिमालयन बैंकसँग मर्जरको ब्यापक छलफल भईरहेको छ । केही कुरा मिलेको छैन । त्यो मिल्यो भने छिट्टै सैद्दान्तिक समझदारी हुन्छ ।तर यतीबेला राम्रो ब्यापार गरिरहेको सिभिल बैंक भने सजिलै मर्जरमा जाने तयारीमा छैन । पछिल्ला २ वर्षमा उल्लेख्यमात्रामा व्यवसाय गर्न सफल सिभिलले अहिले स्वाप रेसियोमा राम्रो बहस भईरहेको छ ।
मर्जर भाँड्दा कारवाही
नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडेकोमा कारवाही गर्दै सेयरधनीलाई लाभांश वितरणमा रोक लगाएको छ । त्यस्तै, हिमालयनले अर्को वाणिज्य बैंकसँग मर्जर प्रक्रिया पूरा नगर्दासम्म दोस्रो बजारमा सेयर कारोबार समेत खुल्ने छैन । यसबाहेक बैंकले थप शाखा खोल्न पाउने छैन भने सञ्चालकलाई समेत राष्ट्र बैंकले स्पष्टिकरण सोधेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले राष्ट्र बैंकले दिएको निर्देशन पूरा गर्ने गरेर काम गर्ने बताएका छन । गत पुस अन्तिममा हिमालयन बैंकको साधारणसभाले इन्भेष्टमेन्ट बैंकसँग स्वाप अनुपात नमिलेको भन्दै मर्जर प्रस्ताव अस्वीकृत गरेको थियो । हिमालयनका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ कर्मचारी सञ्चय कोषसँग मिलेपछि इन्भेष्टमेन्टसँगको मर्जर भाँडिएको थियो ।
हिमालयन बैंकले इन्भेष्टमेन्ट बैंकसँग नै मर्जरको सम्झौता गर्दा सिभिलसँग समेत गर्ने तयारी गरेको थियो । त्यतीबेला हिमालयन बैंकका लगानीकर्ताले तीनवटा बैंकबीच मर्जरको सम्झौता गरेर एकैपटक ठूलो बैंक बन्ने प्रस्ताव गरेका थिए । पछि हिमालयन बैंकका लगानीकर्ताको चाहना इन्भेष्टमेन्टसँग मर्जर गरेपछि सिभिल बैंकलाई लिने भन्ने थियो । अझ रमाइलो के छ सिभिल बैंकले हिमालयन बैंकलाई कुनैबेला आफूहरु एक्विजेशनमा जान तयार भएको तथा उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारी सबैलाई अवकास दिने हिसाबले प्रस्ताव गरेको थियो ।
राष्ट्र बैंकको कारवाहीले हिमालयन बैंक मर्जरको बाध्यतामा
राष्ट्र बैंकले गरेको कारवाहीले हिमालयन बैंकलाई अर्को वाणिज्य बैंक लिएर मर्ज गर्नुपर्ने बाध्यता छ । यही बाध्यतामा अरु बैंकले सेयर मूल्यमा चर्को बहस गरेका छन् । दिने र लिने कुरा अहिले हिमालयन बैंकलाई लागू भएको छ । हिँजोका दिनमा हिमालयनसँग मर्जरमा जान्छु भन्ने बैंकले पनि अहिले बैंकले सेयर स्वापमा चर्को बहस गरेका छन् । यसकारण हिमालयनलाई जसरी पनि एउटा वाणिज्य बैंक लिएर मर्जर प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता छ । किनकी बैंकलाई अरु बैंकलाई कारवाहीबाट बच्नका लागि मर्ज गर्नुपर्ने छैन । हिमालयन बैंकलाई परेको सोही समस्यामा खेलेर अहिले बैंकले सेयर स्वाप अनुपातमा बहस गरेका छन् ।
प्रतिक्रिया