दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सामान्य वृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १९.९७ अंकले घटेर २ हजार ३ सय ५६ दशमलब २० विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा कारोबार रकममा सामान्य वृद्धि भई १ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका २५ कम्पनीको शेयरमूल्य बढेको छ भने १६३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ११४२.६० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्स भएको छ । यस कम्पनीको आज ५ करोड २५ लाख भन्दा बढीको कारोबार भएको छ ।