एनआइसी एशियाले ऋणीलाई जेठमा पनि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने

एनआइसी एशियाले ऋणीलाई जेठमा पनि कर्जाको ब्याजमा १० प्रतिशत छुट दिने


बैकिङ्ग समाचार ।
एनआइसी एसिया बैंकले जेठ महिनाका लागि पनि १० प्रतिशत छुटको योजना लागू गर्ने भएको छ।

जसअनुसार नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा २ प्रतिशत ब्याज छुटको अलावा जेठ महिनासम्ममा तिर्नुपर्ने सबै बक्यौता रकम सोही मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सबै ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना बैंकले आफ्ना ग्राहकमाझ ल्याएको हो।

यो महामारीमा सबै सरोकारवालाले देशको अर्थतन्त्रको हित रक्षाको लागि आ–आफ्नो स्तरबाट योगदान पुर्याउनुपर्ने आवश्यकतालाई सम्बोधन गर्न बैंकले यस्तो योजना ल्याएको बताएको छ।

यसले गर्दा ग्राहकको वित्तीय भार कम भई यस कठिन समयमा सिर्जित समस्याको न्यूनीकरणमा ठोस टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले २०७७ जेठ महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्था समेत बैंकले गरेको छ।

यसरी प्राप्त गर्नुपर्ने छुट रकम असार महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकको बैंक खातामा जम्मा गरिने बैंकले बताएको छ।

बैंकले प्रदान गर्ने १० प्रतिशत छुट बैंकको चैत महिनाको आधार दर (९.६१ प्रतिशत) मै कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू नहुने बैंकको भनाइ छ।

साथै बैंकले प्रदान गर्ने सहुलियतको कारणले ऋणीहरुको ब्याजदर बैंकको चैत महिनाको आधार दर ९.६१ प्रतिशत भन्दा कम नहुने गरी छुट प्रदान गरिने व्यवस्था गरिएको छ।

साथै, उक्त ब्याज छुट ऋणीहरुको उपभोग गर्न बांकी कर्जा तथा लिमिट थप गरी ब्याज भुक्तानी गरिएको कर्जा सुविधाको हकमा भने नपाउने व्यवस्था गरिएको छ।

ग्राहकलाई कुनै समस्या परे बैंककोे ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकको आग्रह छ।

एनआइसी एसिया बैंकले ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत् सेवा दिदैं आएको छ।