शिवम् सिमेन्ट्सको खुद नाफा साढे २६ करोडले घट्यो 

शिवम् सिमेन्ट्सको खुद नाफा साढे २६ करोडले घट्यो 


बैकिङ्ग समाचार ।  

शिवम् सिमेन्ट्सको बिक्री आय गत आवको तेस्रो त्रैमासको तुलनामा १ अर्ब २९ करोड २१ लाख रुपैयाँले घटेको छ।

कोरोना संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउनका कारण उद्योग सञ्चालन, कारोबार हुन नसक्दा बिक्री आय घटेसँगै कम्पनीको समग्र नाफा प्रभावित बनेको हो।

यस्तै मागको तुलनामा अत्याधिक उत्पादनका कारण बजारमा बिक्री मूल्यमा ह्रास आउनु तथा बजारमा भईरहेको सिमेन्ट उत्पादकहरु बीचको प्रतिस्पर्धालाई कम्पनीले आफ्नो नाफा घट्ने कारणको रुपमा वित्तीय विवरणमा उल्लेख गरेको छ।

कम्पनीले चालु आवको ९ महिना अवधिमा ७ अर्ब ८ करोड ४० लाख रुपैयाँको सिमेन्ट बिक्री गरेको छ। गत आवको यसै अवधिमा यस्तो आम्दानी ८ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ थियो।

बिक्री आम्दानी घटेसँगै समीक्षा अवधिमा कम्पनीको खुद नाफा पनि २६ करोड ६५ लाख रुपैयाँले घटेको छ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ७९ करोड २४ लाख ६८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ।

गत आवको यसै अवधिमा कम्पनीले १ अर्ब ५ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी २४.०१ रुपैयाँ छ। गत आवको तुलनामा ८.०८ रुपैयाँले इपिएस घटेको हो।

समीक्षा अवधिमा कम्पनीको शेयरधनी कोष पनि ३ अर्ब ४५ करोडबाट घटेर ३ अर्ब ३४ करोड रुपैयाँमा झरेको छ। उसको शेयर प्रिमियम रकम ९४ करोड २ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १९७.२८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२८ गुणा रहेको छ।