देशकै ठुलो बैंक ग्लोबल आइएमी बैंकको नाफा कति ? यस्तो छ वित्तिय स्थिती 

देशकै ठुलो बैंक ग्लोबल आइएमी बैंकको नाफा कति ? यस्तो छ वित्तिय स्थिती 


बैकिङ्ग समाचार  । 

ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमाससम्ममा २ अर्ब ७० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ४४.३६ प्रतिशत धेरै हो।

गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

जनता बैंकलाई मर्ज गरेको बैंकको जनताको सहित कुल खुद नाफा ३ अर्ब १५ करोड ३९ हजार रुपैयाँ कायम भएको छ । जनता बैंकले मर्जरअघि कमाएको ४५ करोड १३ लाख ३० हजार सहित सो नाफा कायम भएको हो।

यस अवधिमा बैंकको वितरण योग्य नाफा भने ५७ करोड ९५ लाख रुपैयाँ मात्र रहेको छ। एनएफआरएस रिर्पोट अनुसार राष्ट्र बैंकले तोकेको विभिन्न शिर्षकहरुको व्यवस्था अन्तर्गत रकम छुट्टाएपश्चात कायम हुन आउने फ्रि प्रोफिटलाई बैंकले आफ्ना शेयरधनीलाई लाभांशको वितरणमा उपयोग गर्न सक्दछ।

बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा बृद्धि हुँदा खुद नाफा बढेको हो । यस अवधिमा बैंकको खर्चका साथै खराब कर्जा समेत केहि बढेको छ।

चैत मसान्तसम्ममा बैंकले २ खर्ब १ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरि १ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यसबाट बैंकले ६ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ खर्ब २० अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब ९७ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

१८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको वार्षिक प्रतिशेयर आम्दानी २२ रुपैयाँ १६ पैसा कायम भएको छ। बैंकको जगेडा कोषको आकार ३ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ९ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

बैंकको पूँजी बढेअनुसार नाफा बढ्न नसक्दा प्रतिशेयर आम्दानी केहि खुम्चिएको छ। गत वर्षको यसै अवधिमा २४ रुपैयाँ २१ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी घटेर २२ रुपैयाँ १६ पैसामा झरेको छ। जनतालाई गाभेपछि बैंकको चुक्ता पूँजी ८४ प्रतिशतले बढेको छ । 

बैंकको खराब कर्जा अनुपात ०.७६ बिन्दु बढेर १.१४ प्रतिशत पुगेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ६५ पैसा, कोषको लागत ६.८४ प्रतिशत, आधार ब्याजदर ९.४१ प्रतिशत, स्प्रेडदर ५.१८ प्रतिशत, र पूँजीकोष अनुपात ११.२० प्रतिशत रहेको छ।