सिद्धार्थ बैंकको खुद नाफा २५ करोडले घट्यो

सिद्धार्थ बैंकको खुद नाफा २५ करोडले घट्यो


बैकिङ्ग समाचार  । 
सिद्धार्थ बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु अवको यसै अवधिमा २५ करोड २९ लाख रुपैयाँले खुद नाफामा गिरावट आएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चैत मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा भने १५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

राष्ट्र बैंकको व्यवस्था बमोजिम बैंकले बैधानीक जगेडा कोषमा ६३ करोड ४३ लाख र नियामकीय जगेडा अन्तर्गत ८५ करोड ८८ लाख रुपैयाँ व्यवस्थापन गर्दा शेयरधनीलाई बाँड्ने रकम भने ऋणात्मक देखिएको हो।

चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रुपैयाँ रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी १८.८९ रुपैयाँ छ। यस अवधिमा बैंकको जगेडा कोषमा ४ अर्ब ८२ करोड ४९ लाख रुपैयाँ, शेयरधनी कोष (रिटेन्ड अर्निङ्ग) मा ४० करोड ५४ लाख रहेको छ।

चैत मसान्तसम्म बैंकले १ खर्ब ३० अर्ब ३४ करोड ५८ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २४ अर्ब ३८ करोड ८१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

चालु आवको तेस्रो त्रैमासम्ममा बैंकको खुद ब्याज आम्दानी, शुल्क कमिसन आय बढेपनि बैंकको कर्मचारी र सञ्चालन खर्चमा भएको वृद्धिका कारण सञ्चालन नाफा भने घटेको छ। बैंकले गत आवको चैत मसान्तको तुलनामा ७७ करोड ७० लाखले खुद ब्याज आम्दानी वृद्धि गर्दै ४ अर्ब १८ करोड ५४ लाख रुपैयाँ कमाएको छ। बैंकको सञ्चालन नाफा भने २९ करोड रुपैयाँ घटेर १ अर्ब ९७ करोड ९३ लाखमा खुम्चिएको छ।

चैत मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात १.३६ बाट बढेर २.२४ प्रतिशतमा छ। बैंकको प्रतिशेयर नेटवर्थ १५३.४४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.२८ गुणा , निक्षेप संकलन लागत ७.२३ प्रतिशत, आधारदर ९.९८ प्रतिशत, स्प्रेडदर ५ प्रतिशत र पूँजीकोष अनुपात ११.८६ प्रतिशत रहेको छ।