प्रभु बैंकको नाफा सवा एक करोडले मात्र बढ्यो, खराब कर्जा झण्डै ३ प्रतिशत

प्रभु बैंकको नाफा सवा एक करोडले मात्र बढ्यो, खराब कर्जा झण्डै ३ प्रतिशत


बैकिङ्ग समाचार  । 
चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा प्रभु बैंकको नाफामा एक करोड १९ लाख रुपैयाँको मात्र सुधार आएको छ । तेस्रो त्रैमासको नाफा मात्र हेर्दा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ ।

बैंकले कष्ट अफ फण्ड विगत वर्षकै तुलनामा देखिएकोमा कर्जा तथा निक्षेपको ब्याज अन्तर (स्प्रेड) बढाएको अवस्थामा पनि न्यून नाफा वृद्धि गराउन सफल भएको छ । प्रभु बैंकको पनि स्प्रेड रेट नेपाल राष्ट्र बैंकले तोके भन्दा धेरै माथि छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको स्प्रेड दर ५.३२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको चैतमा बैंकको स्प्रेड रेट ४.८८ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब एक करोड १९ लाख रुपैयाँले धेरै हो । बैंकले गत आर्थिक वर्षको चैतसम्ममा एक अर्ब ४५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । तर, चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको सेयरधनीलाइ वितरण गर्न योग्य नाफा ७७ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

बैंकले चालु आर्थिक वर्षको सो अवधिमा खुद ब्याज आम्दानी ६.४९ प्रतिशतले मात्र बढाएको छ भने फि तथा कमिसन आम्दानी १८.८७ प्रतिशतले वढेको छ । बैंकको ब्याज आम्दानी र फि तथा कमिसन आम्दानी देखिएको समान्य सुधारले खुद नाफामा उल्लख्य प्रभाव पर्न नसकेको देखिन्छ । यस अवधिमा बैंकको कर्मचारी खर्च करिब २३ प्रतिशत बढेपछि नाफा कम भएको बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षका चैतसम्ममा बैंकले ३ अर्ब ५९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यसैगरी बैंकले सो अवधिमा ५७ करोड ५४ लाख रुपैयाँ फि तथा कमिसन आम्दानी गरेको छ । चालु आवको चैतसम्ममा बैंकको निक्षेप एक खर्ब १८ अर्ब रुपैयाँ रहेको छ भने कर्जा ९९ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

बैंकको नाफा घटेपछि प्रतिशेयर आम्दानी पनि समान्य घटेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा बैंकको बार्षिक प्रतिशेयर आम्दानी १९ रुपैंया ८९ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात भने ११.३१ गूणाले धेरै छ ।

चालु आर्थिक वर्षका चैतसम्ममा बैंकको खराब कर्जा वढेको छ । गत आर्थिक वर्षको चैतसम्ममा बैंकको खराब बर्जा २.४२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २.९५ प्रतिशत पुगेको छ ।
चैतसम्ममा बैंकको आधार ब्याजदर पनि ८.९८ प्रतिशतमा झरेको छ । गत आर्थिक चैतसम्ममा बैंकको आधार ब्याजदर ९.१६ प्रतिशत रहेको थियो ।