१ अर्ब २५ कारोड रुपैयाँ लगानीकर्तालाई वितरण गर्दै कृषि विकास बैंक 

१ अर्ब २५ कारोड रुपैयाँ लगानीकर्तालाई वितरण गर्दै कृषि विकास बैंक 


बैकिङ्ग समाचार  । 

कृषि विकास बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्मा १ अर्ब २५ करोड रुपैयाँ लगानीकर्तालाई वितरण गर्न सक्ने जनाएको छ ।

गत चैत मसान्तसम्ममा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले २ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद नाफामा १७ करोड २१ लाख रुपैयाँको संकुचन देखिएको हो ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ४।२२ प्रतिशतबाट घटेर ३।६५ प्रतिशत कायम भएको छ ।

खुद ब्याज आम्दानीमा आएको गिरावटले बैंकको खुद नाफामा पनि प्रभाव देखाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब ३० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३६ करोड रुपैंया खुद व्याज आम्दानी गरेको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६ करोड ७८ लाख रुपैयाँले घटेर २ अर्ब ७० करोड रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन मुनाफा २ अर्ब ७६ करोड रुपैंया थियो ।

सरकारको अग्राधिकार शेयर सहित बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ । बैंकमा ९ अर्ब ५५ करोड ६४ लाख ६० हजार साधारण र ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ । बैंकको जगेडा कोषमा १० अर्ब ४३ करोड रुपैयाँ सञ्चित रहेको छ भने रिटेर्न अर्निङ्ग २ अर्ब ४३ करोड छ ।

प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५५ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात १३.८६ गुणाले बढी छ ।