तेस्रो क्वाटरमा नबिल बैंकको नाफा घट्यो, तर, बन्यो सबैभन्दा धेरै कमाउने बैंक

तेस्रो क्वाटरमा नबिल बैंकको नाफा घट्यो, तर, बन्यो सबैभन्दा धेरै कमाउने बैंक


बैकिङ्ग समाचार ।

नबिल बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमासिक वित्तीय विवरणमा आधिकांस सूचकमा गिरावट आएपनि सबैभन्दा धेरै नाफा कमाउने बैंकको पहिलो नम्बरमा कायम भएको छ।

बैंकको कोषको लागत बढ्दा खुद ब्याज आम्दानी, संचालन नाफा, खुद नाफाका साथै रिर्टेन अर्निङ तथा प्रतिशेयर आम्दानी समेत घटेको छ । तर पनि ९ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको पहिलो नम्बरमा परेको छ। बैंकले यस अवधिमा खराब कर्जा भने केहि घटाउन सफल भएको छ।

बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब १५ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १९ करोड खुद नाफा कमाएको थियो।

चलु आर्थिक बर्षको ९ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकको पहिलो स्थानमा नबिल बैंक देखा परेको छ । दोस्रो स्थानमा ग्लोबल आइएमई र तेस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।

बैंकको ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानीमा गिरावट आउँदा नाफा घटेको हो । चैत मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ९ करोड रुपैयाँ रहेको छ। अन्य बैंकहरुको वितरण योग्य नाफा प्रभावित भइरहदा नविलको भने सामान्य घटेको छ।

एक खर्ब ७१ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४९ अर्ब ३९ करोड कर्जा परिचालन गरेको छ । जसबाट ३ अर्ब ३७ करोड रुपैयाँमा खुद ब्याज आम्दानी गरेको छ । बैंकको निक्षेप सामान्य बढेको छ भने कर्जा करिब १७ प्रतिशत बढीले बढेको छ।

१० अर्ब ९ करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ७६ करोड, शेयरधनी कोषमा २ अर्ब ९५ करोड र शेयर प्रिमियममा ७४ हजार रुपैयाँ रहेको छ।

बैंकको निष्क्रिय कर्जा ०.६४ प्रतिशतबाट घटेर ०.६३ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ७१ पैसामा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ २१ पैसा तथा मूल्य आम्दानी अनुपात १६.८१ गुणा छ ।

बैंकको कोषको लागत ६.५५ प्रतिशत, आधार दर ७.८२ प्रतिशत र स्प्रेड दर ४.३४ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ७८.८८ प्रतिशत छ ।