बैंकिङ्ग समाचार, काठमाडौं ।
शेयर बजारमा आम मानिसको चासो बढदै गएको छ । सिडिएस एण्ड क्लियरिङ्गको अनुसार चैत तेस्रो सातासम्म डिम्याट खाता खोल्नेको संख्या ५० लाख ८९ हजार ५ सय पुगिसकेको छ ।
२०७७ सालको असारसम्म यस्तो खाता खोल्नेको संख्या १६ लाख ८६ हजार १ सय मात्र थियो । यो तथ्यले पनि शेयर बजारमा मानिसहरुको आकर्षण बढेको प्रष्ट हुन्छ ।
प्रविधीको कारण खरिद बिक्र्रीमा भएको सहजता, थोरै लगानीबाट पनि बजार प्रबेश गर्न सकिने र प्रतिफल पनि राम्रै हुने भएकाले लगानीकर्ताको आकर्षण बढेको हो ।
लगानी गर्दा के बारेमा ध्यान दिने भन्दै बजार विश्लेषक बिष्णु प्रसाद बस्याल भन्छन्, ‘मुख्यतः कम्पनीको फन्डामेन्टल्सहरु हेर्नुपर्यो, त्यो कम्पनीले कति कमाइ राखेको छ, बिगतमा कति कमाई गरेको थियो, भबिष्यमा गएर कति कमाउन सक्छ र त्यो कमाईको तुलनामा उसको शेयर मुल्य कति छ । त्यसको एउटा उचित मुल्य कति हुन आउँछ भन्ने पिई रेसियो बारे बुझ्न जरुरि हुन्छ । साथै, त्यस कम्पनीको इपिएस कति छ, रिजर्भमा र क्यापिलमा कति छ भन्नुको साथै, भबिष्यमा गएर कति मुनाफा दिन सक्छ । यिनीहरु नै लगानी गर्नु अघि लगानीकर्ताहरुले विचार पुर्याउनु पर्ने सामान्य कुराहरु हुन् ।’
बजार पुँजीकरण पनि कुल ग्राहस्थ उत्पादन (जिडिपि) को हाराहारी साढे ३५ खर्ब रुपैंया भन्दा बढी छ । यस क्षेत्रमा आम मानिसको आकर्षण बढ्नु सकारात्मक भएपनि बजार आफैमा जोखिमको क्षेत्र भएकाले लगानीकर्ता सचेतना आवश्यक रहेको जानकारहरु बताउँछन । लगानीकर्ताले बजार र शेयर खरिद गर्न चाहेको कम्पनीको बिश्लेषण गर्न आवश्यक छ ।
बस्याल भन्नुहुन्छ, ‘शेयर बजार सबैका लागि होइन । बजार बुझ्नेका लागि हो, जो सँग आफ्नो कमाईको केही हिस्सा म शेयरमा लगानी गर्छु भनेर बचेको पैसा लगानी गर्ने क्षेत्र हो । त्यसमा नचाँहिदो जोखिम लिएर वा ऋण लिएर लगानी गर्ने क्षेत्र पनि होइन । र दैनिक आवश्यकताको लागि छुट्याएको पैसा शेयर बजारमा लगाउने ठाँउपनि होइन ।’
तसर्थः शेयर बजारमा लगानी गर्नु अघि कम्पनीको वित्तिय विवरण, पिई रेसियो, प्रतिशेयर आम्दानी (इपिएस) लगायतका अवस्थालाई बिश्लेषण गर्नुपर्छ । त्यसो नगरी अरुले कमायो भनेर घर, खेत नै बेचेर वा महँगो ब्याजमा ऋण लिएर बजार र कम्पनीको प्राविधीक बिश्लेषण नगरी लगानी नगर्न विश्लेषकहरुको सुझाव रहेको छ ।
प्रतिक्रिया