बैंकिङ्ग समाचारमा ‘नारी दिवस २०८१’ : बैंक र बीमामा बढ्दैछ महिला सहभागिता

बैंकिङ्ग समाचारमा ‘नारी दिवस २०८१’ : बैंक र बीमामा बढ्दैछ महिला सहभागिता


काठमाडौं – सन् १९१० देखि विश्वव्यापीरुपमा मनाउन सुरु गरिएको नारी दिवस नेपालमा समेत मनाइँदै आइएको छ । अमेरिकामा महिलाहरुलाई मताधिकार सुनिश्चित गर्ने लक्ष्यसहित नारी दिवस मनाउन सुरु गरिएको थियो । त्यसयता नेपालमा समेत विभिन्न कार्यक्रम गरेर यो दिवसलाई मनाइने गरेको छ । यसरी विश्वव्यापीरुपमा नारी दिवस मनाउन थालेको शताब्दीभन्दा बढी भइसकेको छ ।

यो नारी दिवस महिला जागरूक्ता सम्बन्धी दिवस हो । मार्च ८ मा विश्वभरी नारी दिवस मनाउनुको मूख्य लक्ष्य राजनीतिक तवरबाट सुरु भएको भएतापनि हाल महिला अधिकार, महिला सशक्तिकरण र लैङ्गिक समानाता आदि सवालमा नारी दिवस केन्द्रीत हुँदै आइरहेको छ ।

तर, कतिपय अवस्थामा नारी दिवस नारामा नै सिमित मात्रै देखिन्छ । तर, २०६५ सालमा जनताबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेयता महिला अधिकारमा ठूलो उपलब्धि हासिल भएको मानिन्छ । गणतन्त्र स्थापना भएयता नेपालले प्रथम महिला राष्ट्रपतिकारुपमा २०७२ सालमा विद्यादेवी भण्डारी पाएको थियो ।

यस्तै, सोही वर्ष प्रथम महिला सभामुखकारुपमा ओनसरी घर्तीमगर चुनिएकी थिइन् भने २०७३ सालमा सुशिला कार्की नेपालको प्रथम महिला प्रधानन्यायधीश बनेकी थिइन् । त्यसअघि नेपालको सर्वोच्च पदमा महिला प्रमुख ज्यादै न्यून थिए । यस आधारमा २०७० साल यता नेपालले महिला सशक्तिकरण र अधिकारको क्षेत्रमा ठूलो फड्को मारेको छ भन्दा फरक नपर्ला ।

किनकी, यही वर्ष २०८१ सालमा नै नेपालले पुनः प्रथम महिला मूख्यसचिव पाइसकेको छ । सरसर्ती हेर्दा २०७० सालयता सर्वोच्च पदसम्म महिलाहरुको पहुँच पुग्न थालेको देखिन थालेको छ । तर, अझै धेरै क्षेत्र छन्, जहाँ महिला नेतृत्व स्थापित भइसकेको छैन । अपवादबाहेक यसअघि महिलाले सबल र सक्षमरुपमा गरेको नेतृत्वस्थल पनि फर्किएर महिला नेतृत्वमा पुगेका छैनन् ।

विद्यादेवी भण्डारी राष्ट्रपतिमा दुई पटक निर्वाचित हुनुबाहेक अन्य पदमा दोहोरिएको स्थिती छैन । अझै वित्तीय क्षेत्रका सर्वोच्च पदमा अझै पनि महिला नेतृत्व स्थापित बनिसकेको छैन । प्रधानमन्त्री, अर्थमन्त्री, नेपाल राष्ट्र बैंक, बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड लगायत निकायमा महिलाको नेतृत्व स्थापित नभइसकेको हो ।

आर्थिक गतिविधिमा महिलाको सहभागिताले ठूलो फड्को मार्न सकिन्छ भन्ने उदाहरण बंगलादेशबाट पनि लिन सकिन्छ । बंगलादेश सन् २००९ आसपास नेपालकै हैसियतमा थियो । बंगलादेश र नेपालको आर्थिक स्थिती धेरै हदसम्म समान थियो भने गार्मेन्टमा एकअर्काका कडा प्रतिस्पर्धी थिए । तर, सन् २००९ यता बंगलादेशले आर्थिक गतिविधिमा महिलाको संलग्नता बढाएसँगै उसको आर्थिकस्तर नै सुधारिन थाल्यो ।

बंगलादेशमा गार्मेन्टले रोजगारी दिएका कूल श्रमिकमध्ये आधाभन्दा बढी महिला छन् । फलस्वरुपः बंगलादेशबाट निर्यात हुने गार्मेन्टको रकम बढेर ४० बिलियनभन्दा माथिसम्म पुग्यो । यसबाट बंगलादेशका महिलाले रोजगारी मात्रै पाएनन्, उनीहरुको आर्थिकस्तर पनि सुधारियो । जसले समग्र देशको कूल गार्हस्थ उत्पादन (जीडीपी) नै उल्लेख्यरुपमा बढ्यो र यतिबेला ४३७ बिलियन अमेरिकी डलर पुगेको छ । जबकी, नेपालको जीडीपी ४१ बिलियन अमेरिकी डलर हाराहारी छ ।

यी क्षेत्रमा सर्वोच्च नेतृत्वमा महिलाको उपस्थिती शून्य नै छ । तर, बैंक तथा वित्तीय क्षेत्रका नेतृत्वमा पुगेको अत्याधिक उदाहरण नभेटिएपनि यस क्षेत्रमा महिलाहरुको सहभागिता र उपस्थिती बाक्लो बन्न थालेको छ । यही विषयमा आधारित रहेर बैंकिङ्ग समाचारले २०८१ साल (२०२५ मार्च ८)मा बैंक तथा बीमा क्षेत्रका प्रभावशाली महिलाहरुबारे विशेष श्रृङ्खला तयार पारेको छ ।

सिमित छन् ‘फस्टम्यान’, अधिकांश ‘सकेन्डम्यान’मै सिमित

बैंक तथा वित्तीय संस्था प्राविधिक क्षेत्र मानिन्छ । यहीकारण पनि यी क्षेत्रमा महिलाहरु नेतृत्वमा ज्यादै कम मात्रै पुगेका छन् । तर, सबैजसो ठाउँमा महिला सधैँ ‘सेकेन्ड म्यान’मा सिमित बन्ने प्रचलन नेपालमा पुरानै हो । सबैजसो क्षेत्रमा महिलालाई उपाध्यक्ष र उपसचिव जस्ता पद दिइन्छ । योक्रम राजनीतिकदेखि सबैजसो क्षेत्रमा छ । जसको प्रभाव वित्तीय क्षेत्रमा पनि धेरथोर परिरहेको देखिन्छ । यसैबीच नेपालकै प्रथम महिला डेपुटी गभर्नर बनेर डा. निलम ढुंगाना तिम्सिनाले इतिहास बनाइसकेकी छिन् ।

यसबाहेक, बैंकिङ्ग क्षेत्रमा रबिना देशराज जोशी र अनुपमा खुञ्जेलीले प्रमुख कार्यकारी अधिकृत बनेर वित्तीय क्षेत्रको ‘फस्टम्यान’ बनिसकेका छन् । जोशी र खुलेञ्जेली तत्कालिन मेगा बैंकको नेतृत्वदायी भूमिकामा स्थापित बनेका थिए । यता बीमा क्षेत्रमा समेत महिला प्रमुख कार्यकारी छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल छिन् भने हिमालयन एभरेष्टको प्रमुख कार्यकारीको भूमिकामा अन्जु श्रेष्ठ छिन् ।

तर, यी बाहेक ‘फस्टम्यान’ महिला छैनन् । यद्यपी, पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्र र बीमा क्षेत्रमा महिलाको सहभागिता बढ्न थालेको छ । राष्ट्र बैंककी डेपुटी गभर्नर ढुंगानाकाअनुसार बैंक तथा वित्तीय संस्थामा महिला कर्मचारीको संख्या २७ प्रतिशतभन्दामाथि छ । यस्तै, बीमा प्राधिकरणका अनुसार बीमा क्षेत्रमा महिलाको संख्या ४० प्रतिशत हाराहारी छ । यसले बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा महिलाहरुको संख्या उकालो गतिमा रहेको देखाउँछ ।

तर, यसअघि यस क्षेत्रमा महिलाको सहभागिता कति प्रतिशत थियो भन्ने आधिकारिक तथ्यांक भने छैन । बैंक र बीमा क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेकाहरुकाअनुसार अहिलेको संख्या विगतकोभन्दा बढी हो । यसमा आरक्षणको व्यवस्था गरेपछि बढ्न थालेको हो ।

बैंकिङ्ग समाचारमा वित्तिय क्षेत्रका प्रभावशाली महिला

बैंकिङ्ग सामाचारले बैंक र बीमा क्षेत्रमा लामो समयदेखि योगदान दिइरहेका २० महिलाहरुको प्रेरणादायी समाचार श्रृङ्खला तयार पारेको छ । जसमा उनीहरुको संघर्ष, बाल्यकाल, लक्ष्य र उद्देश्य, चूनौती, उत्साह र प्रेरणाको स्रोतमा केन्द्रीत छ । यो श्रृङ्खलाको मूख्य उद्देश्य महिलाहरुलाई नेतृत्वदायी भूमिकामा आउनुपर्छ, आधाभन्दा बढी संख्यामा रहेकाहरुले देशको अर्थतन्त्रमा प्रत्यक्ष योगदान गर्नुपर्छ भन्नेमा आधारित छ ।

बैंकिङ्ग समाचारमा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्र बैंककी सिनियर डेपुटी गभर्नर डा. निलम ढुंगानासहित २० जनाको समाचार श्रृङ्खला तयार पारिएको हो । जसमा नेपाल बीमा प्राधिकरणकी निर्देशक पुजन ढुङ्गेल, नेपाल राष्ट्र बैंककी निर्देशकहरु निभा श्रेष्ठ र रञ्जना पौडेल पण्डित छन् ।

यस्तै, नेपाल बीमा प्राधिकरणकी उप–निर्देशक पुनम ज्ञवाली श्रेष्ठ, नेपाल राष्ट्र बैंककी उप निर्देशक शिखा अधिकारी, बीमा प्राधिकरणकी उप निर्देशक पुष्पा कुँवर, हिमालयन एभरेष्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ छन् । यस्तै, नेपाल बैंककी डिसीईओ समता पन्त, शिखर इन्स्योरेन्सकी डिसीईओ सविता मास्के, ओरिएन्टल इन्स्योरेन्सकी डिसीईओ सिरिसा मरुजोल्ला छन् ।

एभरेष्ट बैंककी बागमती प्रदेश प्रमुख अन्जु शर्मा, एनआईएमबी बैंककी असिस्टेन जेनरल म्यानेजर सृजना पाण्डे, माछापुच्छ्रे बैंककी जोखिमा व्यवस्थापन विभागकी प्रमुख इन्द्र थापा, ग्लोबल आईएमई बैंककी शाखा प्रबन्धक एलिना घिमिरे, एनएमबी बैंककी प्रमुख बजार अधिकृत प्रनिसा श्रेष्ठ छन् । यस्तै, निफ्राकी सार्वजनिक क्षेत्रको संलग्नता र नयाँ पहल डिपार्टकी स्मृति शर्मा, सिटिजन लाइफकी हेड कर्पोरेट सेल्स रिता पाठक, सानिमा रिलायन्स लाइफकी एरिया म्यानेजर विनिता ढकाल र सुर्यज्योती लाइफकी ‘अन्डरराइटिङ हेड’ गीता बस्नेत छन् ।

यो श्रृङ्खलामा बैंकिङ्ग समाचारले विगतमा तल्लो पदबाट बैंक तथा बीमा छिरेर उच्च ओहोदासम्म पुगेकादेखि यतिबेला नै शाखा प्रबन्धक पदमा रहेकाहरुलाई समेटेको छ । यसक्रममा सुरुमा बनेको योजनाअनुरुप विभिन्न कारणले केही व्यक्तित्वहरु भने छुटेका छन् ।

महिलालाई चूनौतीपूर्ण छ वित्तीय क्षेत्र

महिलालाई कमजोर आँकलन गर्ने हाम्रो प्रवृत्तिका कारण नेपालको इतिहासले महिलालाई नेतृत्व तहसम्म पुर्याउन सकेकको छैनभन्दा फरक नपर्ला । तर, पछिल्लो समय महिलाप्रतिको धारणामा परिवर्तन आएको छ र महिलाहरु पनि नेतृत्व तहमा पुगेका छन् । महिलाहरु जस्तोसुकै चुनौतीको सामना गर्न सक्षम छन् भन्ने उदाहरण वित्तीय क्षेत्रमा उनीहरुको सहभागिताले पुष्टि गरिरहेको छ ।

वित्तिय क्षेत्रमा महिलाहरुले विभिन्न चुनौतीहरु सामना गर्नुपर्छ । जुन सास्कृतिक,संस्थागत र व्यतिगत पक्षहरुसँग सम्बन्धित हुन्छन् । विगतको तुलनामा वित्तीय क्षेत्रमा महिलाहरुको सहभागिता बढेपनि महिलाहरूलाई वित्तीय क्षेत्रमा सीमित भूमिका दिइने प्रवृत्ति अझै पनि देखिन्छ। उच्च व्यवस्थापन तहमा महिलाहरूको प्रतिनिधित्व कम छ ।

कार्यस्थलमा उत्पीडन र असहज वातावरणपनि महिलाहरुको लागि चुनौतीको विषय हो । महिलामा भएको ज्ञान, सीप, क्षमतामा विश्वास र स्वीकार नगर्ने प्रवृत्ति हाल पनि समाजमा कायमै छ ।

महिलाहरु उच्च तहमा पनि पुग्न सक्छन् भन्ने ज्ञान सर्वसाधारणमा अझै पनि कमै छ । समाजले हेर्ने नजरमा परिवर्तन नआउनु पनि महिलाहरुको लागि चुनौतीकै कुरा हो । घर परिवार र कार्यस्थलको व्यवस्थापन गर्नु सानोतिनो कुरा होइन् परिवारलाई समय दिएर संस्थालाई पनि सहज हुने वातावरण सिर्जना गर्नु महिलाहरुलाई चुनौती हो ।

सामाजिक मान्यता र सोचाइले पनि महिलाहरूको करियर ग्रोथलाई फरक परिरहेको हुन्छ । समाजले हेर्ने नजरलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा महिलाहरुले काम गर्नुपर्छ । महिलाहरुले निर्णयहरू गर्न सक्दैनन् भन्ने धारणा अझै पनि समाजमा गढिएको छ । नेतृत्वदायी भूमिकामा रहेका महिलाहरूलाई आलोचना गर्ने प्रवृत्ति छ जसले गर्दा मनोवल घट्ने गर्दछ ।

नेपाल बीमा प्राधिकरणकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठ पनि यस्तै बताउँन् । उनकाअनुसार ‘कुनैपनि काम गर्दा चुनौती त अवश्य नै हुन्छ,’ उनी महिला भएर भोगेको चुनौती सम्झिँदै भन्छिन्, ‘बीमा क्षेत्रमा उच्च पदमा महिलाको संख्या न्यून नै छ । कुनैपनि क्षेत्रमा महिलाहरूको नेतृत्वमा प्रश्न उठाइन्छ । तर, यसलाई महिलाहरूले बुझेर चुनौतीहरूलाई समाधान गर्दै जानुपर्छ ।’ पुरुष र महिलामा भिन्नता छ भनेर आफैले सोच्न थालियो भने आफै पछाडि परिने उनको बुझाई छ ।

उनीजस्तै, बैंकिङ्ग समाचारले अन्तर्राष्ट्रिय नारी दिवस २०८१ को सन्दर्भमा गरेको विशेष श्रृङ्खलाका क्रममा गरिएको कुराकानीका क्रममा सबैजसो महिलाले यही विषय उठान गरे । उनीहरुकाअनुसार महिलालाई घर र कार्यालयको जिम्मेवारी सम्हाल्नै चूनौतीपूर्ण छ । यस्तै, कार्यालयमा नेतृत्व सम्हाल्न नसक्ने, क्षमताविहीन लगायतका आरोप लाग्नु समेत चूनौतीपूर्ण हुने उनीहरुको भनाई छ । यसबाहेक, कार्यालयस्थलमा हुने यौन हिंसा पनि महिलाहरुको ‘करिअर ग्रोथ’का क्रममा आइपर्ने चूनौतीहरुमध्ये मूख्य चूनौतीकारुपमा रहेको छ ।