बैंकरकी छोरी बिनितालाई बीमाले दिएको आत्मविश्वास: ‘जीवनमा हार खानु हुँदैन’

बैंकरकी छोरी बिनितालाई बीमाले दिएको आत्मविश्वास: ‘जीवनमा हार खानु हुँदैन’


काठमाडौं – जीवनमा केही न केही विशेष गर्ने हरेकको व्यक्तिकाे सोच हुन्छ । तर, कतिपय अवस्थामा जीवन सोचेअनुरूप अघि बढ्दैनन् । ‘सबैको चाहना र लक्ष्य पुरा हुँदा पनि हुँदैन,’ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी एरिया म्यानेजर बिनिता ढकालको भनाइ हो यो । कम्पनीको सक्रिय कर्मचारीहरूको सूचीमा शीर्षहरूमा नै पर्छिन् बिनिता ।

राजविराजमा जन्मेकी बिनिताको बाल्यकाल भने झापाको चन्द्रगढीमा बित्याे । उनको बुबा बैंकर भएका कारण विभिन्न स्थानमा सरुवा हुने भएकाले विभिन्न जिल्ला घुम्ने अवसर पनि पाइन बिनिताले । कक्षा ९ बाट उनले स्नतकतहसम्मको अध्ययन विराटनगरमै सकिन् ।

पढाइमा सामान्य रहेकी उनी कार्यक्रमहरुमा भाग लिने सक्रिय विद्यार्थी भएकाले कारण सबै शिक्षकहरूको नजरमा पर्थिन् । सानैबाट केही गर्छु भन्ने सोच र अठोट राख्थिन् उनी । धेरै क्षेत्रमा अनुभव बटुलेपछि भने उनी बीमा क्षेत्रमा प्रवेश गरिन् र आफ्नो स्वभावसँग मेल खाएको पत्तो पाइन्।

‘थकाई मेटाउने माध्यम बन्यो बीमा’
बीमामा आउनु अघि उनले धेरै क्षेत्रमा काम गरिन् । विवाहपछि उनी केही समय श्रीमानसँग विदेश पनि बसिन् । तर, सन् २०१४ मा फर्केर आएपछि उनलाई पहिचान बनाउने हुटहुटी चढ्यो । सानैबाट देशमा सरकारी क्षेत्रमा काम गर्ने उनको सोच थियो । समयको माग अनुसार उनले लोकसेवाको तयारी गरिन् पनि । तर, धेरै प्रयासपछि सफलता हात नलागेपछि लोकसेवाको मोह छाडिन् ।

विस्तारै उनलाई सरकारी क्षेत्रमा काम गर्नेहरूको तलबहरू बुझे पछि उनलाई रुचि हराउँदै गयो । यसबीचमा उनलाई मनोचिकित्सकसँग नै भेट्नु पर्ने अवस्था भएपछि उनले भेटेर कुरा गरिन् । लोकसेवाको तयारीसँगै केही काम गर्नु भन्ने सुझाव पाएपछि उनले ‘हस्पिटालिटी ट्रेनिङ’ केन्द्रमा अनुभव बटुलिन् । ‘त्यसक्रममा मसँग बोल्ने कला रहेछ । मानिसहरूलाई राम्रो सगँ बुझाउन सक्ने रहेछु भन्ने कुरा मलाई महसुस भयो,’ उनले भनिन् ।

केही समय हस्पिटालिटी क्षेत्रमा काम गरेपछि उनलाई कर्पोरेट क्षेत्र छिर्ने चाह जाग्यो । ‘धेरै बैंकहरुमा पनि प्रयास गरियो । यसैबीच सानिमा हाइड्रोपावरमा काम गर्न लागियो,’ उनले थपिन् । विभिन्न क्षेत्रमा काम गरेपछि उनलाई जीवनमा लाग्यो सोचेको केही पूरा नहुने रहेछ । समय अनुसार चल्नुपर्ने रहेछ भन्ने भान भयो । सानिमा हाइड्रोपावरमा दुई वर्ष काम गरेपछि सानिमा लाइफ इन्स्योरेन्सको स्थापनाकालदेखि नै काम सुरु गरिन् । उनले धेरै क्षेत्रमा काम गरे पनि बीमा क्षेत्रमा आएपछि अब के गर्ने भन्ने प्रश्नमा पूर्णविराम लाग्यो ।

‘करिअर ग्रोथको पहिलो खुड्किला परिवारको साथ’
मानिसले जीवनमा सबै हासिल गर्छु भन्ने सोच राखे पनि त्यो सम्भव छैन । सोचेको भएन भनेर निराश हुनु भनेको आफूलाई नै होच्याउनु हो । काम हो व्यवस्थापन गरेर गर्नुपर्छ । बिनिताले पनि परिवार र कामलाई व्यवस्थापन गरेर जीवन चलाइरहेको बताउँछिन् । छोरा छोरीको जिम्मेवारी बूबालाईभन्दा आमालाई नै बढी हुन्छ । तर, पनि सबै व्यवस्थापन गर्न सक्ने भएको कारण पनि महिलाहरूलाई महान् भनिएको होकि भन्ने उनको जिकिर छ ।

‘परिवार, श्रीमानको सहयोगबीना जीवनमा केही पनि सम्भव थिएन । काममा आज यसरी अग्रसर हुनुमा श्रीमानले परिवारमा समय दिएको भएर यो सम्भव भएको हो,’ उनले भनिन् । उनको आत्मविश्वास र काम प्रतिको लगावले छुट्टै किसिमको ऊर्जा दिएको छ । बीमामा लागेपछि आफूमा बोल्ने कलाको विकास हुनुका साथै आत्मविश्वास भरिएको बिनिताको भनाई छ ।

‘सक्दिन भन्ने सोच नै उन्नति प्रगतिको बाधक’
महिलाहरूले काम गर्न रुचि राख्ने तर सुरुवातमा नै राम्रो प्रतिफल खोज्ने हुँदा धेरै महिला पछाडि परेका छन् । ‘सबै जना केही गर्छु भन्ने सोच्नुहुन्छ । तर, सुरुवातमा नै केही गर्न सक्दिनँ, गाह्रो हुन्छ भन्ने सोच्नु नै उन्नति र प्रगतिको बाधक हो,’ उनले भनिन्, ‘यो गलत हो ।’ अफिसको काम र घरको काममा तुलना गर्दा पनि घरको काम धेरै गाह्रो हुने भएकाले पनि सबै महिलाहरूले काम गर्न आवश्यक रहेको उनले बताइन् । ‘जीवन नै संघषै हो । आमाको गर्भभित्र भएदेखि नै जीवनमा संघर्ष गर्नुपर्छ,’ अन्त्यमा उनले थपिन्, ‘जीवनलाई गाह्रो तरिकाले लिएर बस्ने कि, व्यवस्थापनमा लाग्ने आफ्नो विचार ।’

(मार्च ८ अर्थात् फागुन २४ गते रहेको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बैंकिङ्ग समाचारले तयार पारेको साताव्यापी ‘विशेष श्रृङ्खला’मा बैंक तथा बीमा क्षेत्रका नेतृत्वदायी भूमिका र भिन्न पदमा रहेका महिलाहरुसँग गरिएको कुराकानीमा आधारित सामग्री -स.)