काठमाडौं – यही चैतको अन्तिम साता गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदैछ । २०७६ साल चैत २४ को मन्त्रीपरिषद्को निर्णयअनुसार महाप्रसाद अधिकारी १७ औँ गभर्नरकारुपमा नियुक्त भएका थिए । त्यसयता गभर्नर अधिकारीको ५ वर्षे कार्यकाल सकिन लागेको हो । गभर्नर नियुक्तिको समय नजिकिँदै जाँदा आकांक्षीहरुको संख्या बढ्दै जान थालेको छ । बैंकिङ्ग समाचारको जानकारीमा आएअनुसार हालसम्म करिब दुई दर्जनले गभर्नर बन्ने इच्छा देखाएका छन् । यहीअनुसार उनीहरू विभिन्न शक्तिकेन्द्र धाउँदै ‘लविइङ’मा छन् ।
गत साताको मन्त्रीपरिषद् बैठकबाट सरकारले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा गभर्नर सिफारिस समिति गठन गरिसकेको छ । सो समितिमा अर्थमन्त्री पौडेलसहित तीन सदस्य हुनेछन् । जसले यही चैत मध्य सातातर्फ बस्ने मन्त्रीपरिषद् बैठकमा ३ जनाको नाम सिफारिस गर्नेछ । पौडेल नेतृत्वको समितिले नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नरमध्ये एक जनाको नाम सिफारिस गर्नै पर्ने व्यवस्था छ ।
यसअनुसार ३ जनाको नाम सिफारिस हुँदा सिनियर डेपुटी गभर्नर डा. निलम ढुंगाना र बम बहादुर मिश्रमध्ये एक जनाको नाम निश्चित छ । उनीहरू दुवै जना प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाका हुन् भने एमालेसँग समेत निकट छन् ।
कानूनी व्यवस्थामा नै दुई डेपुटीमध्ये एक जनाको नाम सिफारिस गर्नै पर्ने व्यवस्था बमोजिम दुवै जना १८औँ गभर्नरको ‘रेस’ बलिया दाबेदार हुन् । यसबाहेक, वर्तमान गभर्नर महाप्रसाद अधिकारी समेत दोहोरिने इच्छा देखाउँदै दौडधुपमा लागेको बताइन्छ । गभर्नर अधिकारीलाई अघिल्लो ओली नेतृत्वको सरकारले नै गभर्नरमा नियुक्त गरेको थियो ।
यसबाहेक, राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समेत ‘लविइङ’मा छन् । उनी नेपाली काँग्रेस निकट मानिन्छन् । यता योजना आयोगमा रहेका राष्ट्र बैंककै ‘क्याडर’ डा. प्रकाशकुमार श्रेष्ठ समेत गभर्नर बन्नेहरूको नामावलीमा छन् । डा. भट्ट र डा. श्रेष्ठलाई समेत राष्ट्र बैंकको भावी गभर्नरका बलिया दाबेदारकारुपमा लिइएको छ । डा. श्रेष्ठ एमाले निकट मानिन्छन् भने एमालेमा पनि अर्थमन्त्री विष्णुप्रसाद पौडेल निकट मानिन्छन् । साथै, उनलाई व्यवसायीक समूहले समेत साथ दिएको चर्चा सुनिन्छ । यस्तै, हालसालै राष्ट्र बैंकबाट सेवा निवृत्त बनेका देवकुमार ढकाल समेत गभर्नर बन्ने दौडधुपमा रहेको बताइन्छ ।
तर, ढकाललाई गत वर्ष नगरकोटमा सम्पन्न राष्ट्र बैंककै ‘रिफ्रेसमेन्ट’का क्रममा भएको भनिएको घटनाले समस्यामा पारेको बताइन्छ । राष्ट्रिय महिला आयोगमा ढकालविरुद्ध उजुरी परेर छानबिन भएकाले यही घटनाले ढकाललाई कमजोर दाबेदार बनाएको छ । राष्ट्र बैंकको ‘क्याडर’पछि पूर्व डेपुटी गभर्नर तथा सञ्चालक डा. चिन्तामणि सिवाकोटी (नेपाली काँग्रेस निकट) र रवीन्द्र पाण्डे समेत राष्ट्र बैंक हाँक्ने दौडमा लागेका छन् । पाण्डे समेत काँग्रेस कोटामा राष्ट्र बैंक सञ्चालकमा रूपमा छन् ।
यसबाहेक पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व सचिव अर्जुन कार्की र पूर्व सचिव राजेन्द्र किशोर क्षेत्री गभर्नर बन्ने दौडमा छन् । कार्की र क्षेत्री समेत नेपाली काँग्रेस निकट मानिन्छन् भने व्यवसायीक समूहले साथ दिने प्रतिबद्धता क्षेत्रीलाई दिएको छ । खनालले उच्च स्तरीय अर्थतन्त्र सुधार समितिको नेतृत्व समेत गरिसकेका छन् ।
यसैगरी, योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक राजनसिंह भण्डारी, योजना आयोगको समेत अनुभव बटुलेर लगानी बोर्डको प्रमुख कार्यकारी बनिसकेका सुशील भट्टलाई समेत सम्भावित गभर्नरकारुपमा लिइएको छ । यस्तै, योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल, अर्थशास्त्री समिर खतिवडा समेत गभर्नरको लविइङमा छन् ।
यस्तै, ४ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई समेत भावी गभर्नरकोरुपमा हेर्न थालिएको छ । नविल बैंकका प्रमुख ज्ञानेन्द्र ढुंगाना, माछापुच्छ्रे बैंकका प्रमुख सन्तोष कोइराला, कृषि विकास बैंकका प्रमुख गोबिन्द गुरुङ र प्रभु बैंकका अशोक शेरचन समेत गभर्नरका लागि दौडधुप गरिरहेका छन् । ढुंगाना र कोइराला नेपाली काँग्रेस निकट हुन् । शेरचन नेकपा एमाले निकट मानिन्छन् ।
पूर्व पत्रकार तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का महानिर्देशक गोकर्ण अवस्थी समेत गभर्नरको तयारीमा जुटेका छन् । नेपाली कांग्रेस निकट अवस्थी आफ्नो चिनजानको शक्तिकेन्द्रमा ‘लविइङ’ बढाइरहेका छन् । शेखर गोल्छा अध्यक्ष हुँदा महासंघ छिरेका उनी चन्द्रप्रसाद ढकालको कार्यकालमा समेत महानिर्देशकमै छन् । उनलाई ‘कर्पोरेट हाउस’को समेत साथ रहेको बताइन्छ ।
प्रतिक्रिया