कुमारी र देवः विकास बैंक मर्ज हुँदैः प्रस्ताव पारित गर्न एकै दिन साधारण सभा

कुमारी र देवः विकास बैंक मर्ज हुँदैः प्रस्ताव पारित गर्न एकै दिन साधारण सभा


बैकिङ्ग समाचार ।

कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतालाई अनुमोदन गर्नका लागि दुवै बैंकले साधारण सभा आह्वान गरेका छन् ।

कुमारी बैंकले यस अघि नै साधारण सभा गरिसकेकाले जेठ १९ गते विशेष साधारण सभा बोलाएको छ भने देवःले सोही दिन वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कुमारीले देवः लाई ८६ प्रतिशत शेयर स्वापमा किन्न लागेको हो । यो प्रकृया पुरा गर्नका लागि आवश्यक निर्णय गर्दै विलय सम्बन्धि सबै कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव विशेष साधारण सभाबाट पारित गराउँदैछ । कुमारीले विशेष साधारण सभा प्रयोजनका लागि जेठ ७ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ ।

कुमारीले जेठ १९ गते विहान ११ बजे नक्सालमा विशेष साधारण सभा बोलाएको हो ।

उता देवः विकास बैंकल सोही दिन सोही समयमा बैंकको केन्द्रीय कार्यालय लालदरबार काठमाडौंमा १३ औं वार्षिक साधारण सभा बोलाएको हो । देवः ले साधारण सभाबाट प्राप्ति सम्बन्धि प्रस्तावसँगै गत आर्थिक वर्षको वित्तीय विवरण सहितका विविध प्रस्ताव पारित गर्नेछ । कम्पनीले प्रस्ताव गरेको ८ दशमलव ५५ प्रतिशत बोनस शेयरसमेत सभाले पारित गर्दैछ । साधारण सभा प्रयोजनका लागि देवः ले जेठ ५ गतेदेखि १९ गतेसम्म बुकक्लोज गर्दैछ ।

हाल कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड ४१ लाख रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको देवः विकास बैंकको चुक्ता पूँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैंया छ । दुई बैंक गाभिएपछि बन्ने कुमारी बैंकको चुक्ता पूँजी १२ अर्ब २८ करोड रुपैंया पुग्नेछ ।

दुवै बैंकले विलय प्रकृयामा जानका लागि गत माघ १ गते सहमति पत्रमा हस्ताक्षर गरेका थिए । सो पश्चात देवः विकास बैंकको शेयर कारोबार रोक्का छ ।